काठमाडौं । एमसीसी र सीमा अतिक्रमण विरुद्ध नेकपा (मसाल) सहित नौ राजनीतिक दल तथा संगठनले शनिबार देशब्यापी विरोध प्रदर्शन गरेका छन् । देशको राजधानी शहर रहेका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा पनि विरुद्ध विरोध प्रदर्शन भएको छ ।
काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेकपा (मसाल) का जिल्ला प्रवक्ता जगत रेग्मीले देशलाई बन्धकी राखेर एमसीसी पास गर्न पाईंदैन भन्दै पश्चिमा साम्राज्यवादप्रति सरकार लाचार बनेको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य लालबहादुर थापाले भारतीय साम्राज्यवादले गरिरहेको सीमा अतिक्रण प्रति पनि सरकारले कुरा मात्रै गरेको तर प्रभावकारी कदम उठाउन नसकेको आरोप लगाउनुभयो ।

कार्यक्रमलाई नेकपा (माले) का स्थायी समिति सदस्य सुरेन्द्र ढकाल, जनसमाजवादी पार्टीका उपमहासचिव डम्बर विक्रम कार्की, राष्ट्रिय जागरण परिषदका सचिव हेमन्त सेढाई, नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य आलोक रायमाझी, देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष बन्धुदेव पाण्डे, नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला इन्चार्ज शारदा महत र नेकपाका बाग्मती प्रदेश सचिव अर्जुन कार्कीले सम्बोधन गर्नुभएको थियो ।
राष्ट्रिय जनमोर्चाका नेता छवि खनालले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता नेकपा (माले) का नेता सिद्धिलाल महर्जनले गर्नुभएको थियो ।
ललितपुर
शनिबार ललितपुरमा एमसीसी र सीमा अतिक्रमण विरुद्ध जुलुश सहित विरोध सभा सम्पन्न भएको छ । सभालाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य घनश्याम न्यौपाने र नेकपा (मसाल) का प्रतिनिधि निलगोविन्द महर्जनलगायत नेताहरुले सम्बोधन गर्नुभयो ।

लगनखेलबाट सुरु भएको जुलुशले मंगलबजार परिक्रमा गरी पुनः लगनखेलमै आएर विरोध सभामा परिणत भएको थियो । सभालाई नेकपा (माले) का मोहनराज शाक्य, क्रान्तिकारी माओवादीका प्रेम केसी, माओवादी केन्द्रका राजन तिमिल्सेना, नेकपाका महेन्द्र जोशी, जनसमाजवादी पार्टीका असिम लिम्बु, देजमोका इन्दिरा ज्ञवाली र सम्पदा संरक्षण समितिका समिर महर्जनले सम्बोधन गर्नुभएको थियो ।
भक्तपुर
शनिबार भक्तपुरको सुर्यविनायक चोकमा सोही विषयमा विरोध सभा सम्पन्न भएको छ । सभालाई राष्ट्रिय जनमोर्चाका तर्फबाट अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेलले सम्बोधन गर्नुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका तिलक थापा, क्रान्तिकारी माओवादीका सोमानसिंह तामाङ, मालेका दिनेश खाती, जनसमाजवादीका गोविन्द बहादुर बुढा, देजमोका श्रीकृष्ण सुलु र नेकपाका प्रविन जोशीले सम्बोधन गर्नुभएको भक्तपुरबाट राजमो नेता शिवहरी खनालले जानकारी दिनुभएको छ ।