चितवन । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् चितवन क्षेत्र नं २ का उम्मेदवार जनकराज शर्माले राष्ट्रियता रक्षा गर्न राजमोलाई भोट दिन आग्रह गर्नुभएको छ ।
चुनाव प्रचार प्रसारका क्रममा गडुवाल चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उपाध्यक्ष शर्माले नेपालका प्रमुख भनिने राजनीतिक दलहरुले राष्ट्रियतामाथि खेलवाड गरेको र नयाँ गठन भएको दलसमेत विदेशबाटै परिचालित भएको बताउनुभयो ।
‘राष्ट्रियतामाथि सत्ताधारी दलहरुले खेलवाड गरिरहेका छन् । नयाँ गठन भएको रास्वपा त अझ अमेरिकी साम्राज्यावदको इशारामा चल्ने दल हो । त्यसकारण नेपालको राष्ट्रियता गम्भीर अवस्थामा छ’ शर्माले भन्नुभयो, ‘देश जोगाउन र संघीयता खारेज गर्न राष्ट्रिय जनमोर्चालाई मतदान गर्न आह्वान गर्छु ।’

राष्ट्रिय जनमोर्चाले चितावनको उपनिर्वाचनलाई अमेरिकी साम्राज्यवाद विरुद्धको भण्डाफोर अभियानका रुपामा लिएको छ ।
राजमोले चुनाव प्रचारलाई तिब्रता दिने क्रममा गडुवाल चोक, स्कुल चोक र लामा चोकमा कोणसभा गरेको थियो भने इच्छाकामना गाउँ पालिकाको केही भागमा समेत जनभेटघाट, पर्चा वितरणलगायतका कार्यक्रम गरेको थियो ।
प्रचार प्रसार अभियानलाई बिहीबार पनि विहानैदेखि निरन्तरता दिइएको छ ।