काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गरेका छन्।
संघीय संसदको दुवै सदनले पास गरी दोस्रो पटक पठाइएको सो विधेयकलाई प्रमाणीकरण गरेर राष्ट्रपति पौडेलले नागरिकताविहीनहरुलाई नागरिकता दिने कानुनी प्रबन्ध गर्नुपर्ने उनको भनाई थियो। आइतबार नेपाल प्रेस युनियन, धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खाँणले सो विधेयक प्रमाणीकरणका लागि आवश्यक वातावरण बनाउन सरकार र राजनीतिक पार्टीहरुको पनि ध्यानाकर्षण गराए।
संविधान अनुसार संघीय संसदको दुवै सदनले पास गरी दोस्रो पटक प्रमाणीकरणका लागि पठाइएको सो विधेयक तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै थन्किएर बसेको छ। सो विधेयक तत्काल प्रमाणीकरण गरी कानुनको अभावमा नागरिकता नपाएकाहरुलाई नागरिकता दिने कामको थालनी गर्नुपर्ने पनि नेता खाँणले बताए। उनले भने, ‘अनागरिकलाई पनि नागरिकता दिने गरी राष्ट्रपति समक्ष पठाइएको नागरिकता सम्बन्धी विधेयक स्वीकृत गर्नका लागि, प्रमाणीकरण गर्नका लागि म यो जनकपुरको नेपाली कांग्रेसको प्रदेश कार्यालयबाट सम्पूर्ण राजनीतिक पार्टीहरुलाई आग्रह गर्दछु–त्यो वातावरण गराउनुहोस्। र, सरकारले, राजनीतिक दलहरुले सम्माननीय राष्ट्रपतिसँग आग्रह गरेर त्यो नागरिकता विधेयकलाई प्रमाणिकरण गरियोस्। र, ती नेपाली नागरिक, जसले नागरिकता प्राप्त गर्न सकेका छैनन् कानुनको अभावमा। उनीहरुलाई नागरिकता दिने काममा थालनी होस् भन्ने म आग्रह गर्न चाहन्छु।’
नेता खाँणले संविधानको प्रावधान अनुसार नै आएकाले सो विधेयकलाई प्रमाणीकरण गर्न ढिलाई गर्नुपर्ने कुनै कारण नरहेको जिकीर समेत गरे। उनले वैशाख १० गते हुने बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहु क्षेत्र नम्बर १ को उपचुनाव सकिएलगत्तै सबै प्रदेशमा मुख्यमन्त्री आलोपालो हुने गरी सत्तारुढ दलहरुले प्रदेश सरकार पुनर्गठन गर्ने पनि स्पष्ट पारे।