मोहनविक्रम सिंह ##
मेरो सानो उमेरदेखि नै ईश्वर र धर्मकर्ममाथि धेरै नै विश्वास थियो । त्यो बेला गाउँमा स्कुल थिएनन् । कहिलेकाहिँ पिताजी खिमविक्रमले घरमा ल्याएर राखेका शिक्षकबाट नै मेरो पढाइ हुन्थ्यो । ती शिक्षकमध्ये मुख्य रूपमा भक्तिनाथ योगी हुनुहुन्थ्यो । त्यस प्रकारको पढाइ पनि नियमित रूपले हुँदैनथ्यो । पिताजी पनि प्रायश: बाहिर गइराख्नुहुन्थ्यो । त्यसैले मलाई धेरै नै फुर्सद हुन्थ्यो । त्यो बेला मैले गाउँघरमा जे जति किताब पाइन्थे, ती खोजेर पढ्ने गर्दथेँ । मैले पढ्ने पुस्तकमा रामायण, महाभारत, कृष्णचरित्र वा विभिन्न कथाका पुस्तक नै हुन्थे ।
बालककालमा मेरो धेरै समय मावलमा नै बितेको थियो । बाजे मोतिबहादुर थापा काठमाडौँ डिल्लिबहादुरको चारखालमा डिट्ठा हुनुहुन्थ्यो । राणाको एक जना आफन्तीलाई एउटा मुद्दामा २५ पैसा सजाय गरेको हुनाले राणा सरकारले उहाँलाई चारभन्ज्याङ कटाएर निकाला गरिदिएको थियो । त्यसपछि उहाँ गुल्मीको इस्मा मरुभुङमा नै बस्नुहुन्थ्यो । उहाँ धेरै नै धर्मात्मा मान्छे हुनुहुन्थ्यो र उहाँले आफ्नो बिहानभरिको समय आजापूजामा नै बिताउनुहुन्थ्यो । उहाँसित धेरै धार्मिक किताब थिए । मावल गएका बेलामा मैले पनि धेरैजसो ती किताब पढ्ने गर्दथेँ ।
काठमाडौँमा म लैनचौरको शान्ति विद्यागृहमा भर्ना भएको थिएँ । त्यो बेला त्यो स्कुल अहिलेको स्कुलभन्दा केही तल थियो । पाँच क्लासमा पढ्दापढ्दै एउटा शिक्षकसँग विवाद भएर मैले त्यो स्कुलमा पढ्न छाडेँ । त्यो बेला पिताजी प्युठान घरैमा हुनुहुन्थ्यो । त्यसकारण तुरुन्तै अर्काे स्कुलमा भर्ना हुनु मेरा लागि सम्भव भएन र पाँच/छ महिनासम्म मैले कुनै स्कुलमा पढाइ नगरिकन समय बिताएँ । त्यो बेला मैले आफ्नो अधिकतर समय भोटाहिटीका बेग्लाबेग्लै पुस्तक पसलहरूमा—खास गरेर रत्न पुस्तक भण्डारमा—पुस्तक पढेर नै बिताउने गर्दथँे । मैले दिनभरि त्यही दुकानमा उभिएर पुस्तक पढ्ने गर्दथेँ र त्यो पुस्तकका मालिक शिवजीले त्यसरी दिनभर पुस्तक पढ्दा पनि मलाई रोक्ने गर्नु हुँदैनथ्यो ।
एक दिन मैले सबै पढाइ छोडेर हिमालयमा तपस्या गर्न जाने विचार गरेँ । एक दिन बिहानै उठेर म उत्तरतर्फ लागेँ र दिउसो नुवाकोटको पाँचपानेमा पुगेँ । त्यो बेला मसँग खालि डेढ रुपियाँ मात्र थियो । बाटामा केही माग्ने मान्छेहरू भेट भए र मैले त्यो पैसा पनि उनीहरूलाई दिएँ । अब मसँग बाटामा किनमेल गरेर खानका लागि केही पनि पैसा बाँकी रहेको थिएन । बल्ल बल्ल म पाँचपानेसम्म त पुगेँ तर त्यसपछि भोकले गर्दा म हिँड्न सकिनँ र एउटा दुकानको छेउमा पल्टेँ । मलाई धेरै बेरसम्म त्यसरी पल्टेको देखेपछि दुकानदार र गाउँका मान्छेहरूले मलाई उठाए र मलाई सोधपुछ गर्न थाले । मैले हिमालयमा तपस्या गर्न जान थालेको बताएँ । त्यो बेला मेरो उमेर करिब १२ वर्षको थियो । उनीहरूले मलाई चिउरा खान दिए र जबरजस्ती काठमाडौँ फर्काइदिए ।
पिताजीमा सानैदेखि आर्यसमाज धर्मको प्रभाव परेको थियो । हाम्रो गाउँ ओखरकोटको पालतिर तुसारा गाउँ पर्दछ । त्यहाँका एक जना पिताजीका मित्र यदु गिरी आर्यसमाजी बन्नुभएको थियो । माझकोटका दानवीर आर्य पनि त्यही धर्ममा सामेल हुनुभएको थियो । उहाँहरू दुबै जना हाम्रो घरमा आइरहनुहुन्थ्यो र पिताजीसँग त्यसबारे छलफल भइरहन्थ्यो । पछि राना सरकारले उहाँहरू दुबै जनालाई छ वर्षका लागि प्युठानको जेलमा हालिदिएको थियो र उहाँहरू २००७ सालको राजनीतिक परिवर्तनपछि नै जेलमुक्त हुनुभएको थियो ।
एकपल्ट म सानै छँदा आमा र पिताजी तीर्थयात्राका लागि भारततिर जानुभएको थियो । उहाँहरूले मलाई पनि साथै लैजानुभएको थियो । त्यो बेला पिताजीले मलाई अयोध्याको गुरुकुलमा भर्ना गर्न खोज्नुभएको थियो । त्यो बेला म १० वर्षजतिको थिएँ तर आमाले मलाइ गुरुकुलमा भर्ना गर्न मान्नुभएन । त्यसैले मेरो त्यहाँ भर्ना भएन । यदि त्यो बेला आमाले विरोध नगरेको भए सायद अहिले म आर्यसमाजी सन्यासी भएर घुमिरहेको हुन्थेँ होला ।
घरमा छुट्टीमा जाँदा मेरो पनि यदु गिरी र दानवीरसँग भेट भइरहन्थ्यो । उहाँले दिएका आर्यसमाजी पुस्तकहरू मैले पढ्ने गर्दथँे । खास गरेर “सत्यार्थ प्रकाश” पुस्तक मैले कैयौँपल्ट दोहोर्याएर पढेको थिएँ । त्यसैले मेरो त्यो धर्मप्रति झुकाव बढ्दै गयो । त्यसैले एकपल्ट घरमा छुट्टीमा आएपछि काठमाडौँ फर्केर जाने बेलामा म अयोध्या पुगँे र त्यहाँको गुरुकुलमा भर्ना हुन खोजेँ । त्यो बेला प्युठानबाट काठमाडौँ जाँदा बुटवल र सुनौलीबाट गोरखपुर, मुजफ्फरपुर, रक्सौल र वीरगञ्ज हुँदै काठमाडौँ आउनुपर्दथ्यो । त्यही क्रममा म गोरखपुरबाट अयोध्या गएको थिएँ ।
पहिले अयोध्याको गुरुकुलमा विद्यार्थीहरूलाई नि:शुल्क पढाउने गरिन्थ्यो तर अब फिस दिने गर्नुपर्दाे रहेछ । घरबाट भागेर आएको मान्छेले नियमित रूपले फिस दिएर त्यहाँ पढाइ गर्नु सम्भव थिएन । त्यसरी म त्यहाँ भर्ना हुन पाइनँ तर त्यहाँ गुरुकुलका मान्छेहरूले मलाई बताए कि हरिद्धारको गुरुकुल काँगडीमा गाईगोठमा काम गरेर वा त्यही प्रकारका अरू कुनै काम गरेर पनि पढ्न सकिन्छ । त्यसपछि म हरिद्वारतिर लागेँ तर त्यहाँ पनि धेरै फिस लाग्दो रहेछ । गाईगोठमा वा यताउता काम गरेर पढ्ने सम्भावना पनि देखा परेन । त्यो बेला त्यहाँ ठुलो बाह्रबर्से कुम्भमेला लागेको थियो । म एक/दुई दिन त्यही कुम्भ मेलामा घुमेर काठमाडौँ फर्कें ।
त्यो बेला मैले दरबार स्कुलमा भर्ना भएर पढ्न थालेको थिए तर त्यहाँ पनि मेरो पढाइ धेरै दिनसम्म चल्न सकेन । त्यहाँ पनि एउटा बङ्गाली शिक्षकसित विवाद भएर मैले स्कुल छाड्नुपरेको थियो (शान्ति विद्यागृह र दरबार स्कुलमा समेत शिक्षकहरूसित कुन प्रकारको विवाद भएर मैले स्कुल छाड्नुपरेको थियो ? त्यसको बेग्लै कथा छ र त्यसबारे मैले पछि अन्यत्र लेख्ने छु) । दरबार स्कुलपछि मैले ठमेलको जुद्धोदय पब्लिक हाईस्कुलमा भर्ना भएर पढ्न थालेको थिएँ । त्यो स्कुलको वातावरण अत्यन्त प्रजातान्त्रिक प्रकारको थियो र शिक्षकहरूसितको विद्यार्थीको सम्बन्ध धेरै नै मैत्रिपूर्ण र आत्मीय प्रकारको हुन्थ्यो तर पछि केही यस्ता घटना घटे, जसको कारणले मैले त्यो स्कुलको पढाइ पनि ९ क्लासमा नै छाड्नुपर्यो । त्यसबारे मैले पछि बेग्लै लेख्ने छु ।
पहिले मेरो विश्वास सनातन हिन्दु धर्ममाथि थियो । त्यसपछि म आर्यसमाजतिर लागेँ । काठमाडाँैको भोटाहिटीमा आर्यसमाजको एउटा कार्यालय थियो । म प्रायश: त्यहाँ जाने गर्दथेँ । आर्यसमाजी साहित्यमा कम्युनिस्टको धेरै नै विरोध गरिएको हुन्थ्यो । त्यसकारण कम्युनिज्मप्रति पनि मेरो उत्सुकता पैदा भयो र मैले दुकान वा पुस्तकालयमा माक्र्सवादी–लेनिनवादी पुस्तक खोजेर पढ्न थालेँ ।
अब २००७ सालको परिवर्तन भइसकेको थियो । देशमा बहुदलीय व्यवस्था पनि आइसकेको थियो । त्यसैले माक्र्सवादी–लेनिनवादी पुस्तक बजार र पुस्तकालयमा पनि धेरै नै पाइन्थे । खास गरेर क्षेत्रपाटीको एउटा पुस्तकालयमा माक्र्सवादी–लेनिनवादी पुस्तक धेरै नै पाइन्थे । त्यसको सञ्चालक का.रामहरि हुनुहुन्थ्यो । उहाँले मलाई माक्र्सवादी–लेनिनवादी पुस्तकको अध्ययनमा धेरै मदत गर्नुहुन्थ्यो । अब उहाँको मृत्यु भइसकेको छ ।
माक्र्सवादी–लेनिनवादी पुस्तक पढ्दापढ्दै मेरो त्यसप्रति आकर्षण र आस्था बढ्दै गयो । २०१० सालमा मैले छुट्टीको बेलामा घरतर्फ जाँदा तानसेनमा गएर का. कमलराज रेग्मीलाई पार्टी सदस्यताको दरखास्त दिएँ र कम्युनिस्ट पार्टीमा सामेल भएँ । त्यसपछि अहिलेसम्मको करिब सात दसकको मेरो जीवनको इतिहास कम्युनिस्ट आन्दोलनसित नै सम्बन्धित छ । यसको एउटा बेग्लै र लामो कथा छ ।