काठमाडौं । तीन वटा प्रतिनिधि सभा क्षेत्रमा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि यही चैत २० गते (सोमबार) उम्मेदवारको मनोनयनपत्र दर्ता हुने कार्यक्रम तय भएको छ ।
निर्वाचन आयोगले चितवन क्षेत्र नं २, बारा २ र तनहुँ १ मा सोमबार उम्मेदवारी दर्ता गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको हो ।
निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न आयोगले सूचित गरेको छ । उपनिर्वाचनका लागि शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ।
गत मंसिर ४ गतेको निर्वाचनमा निर्वाचित रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं. २, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नंं. १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नं. २ का लागि उपनिर्वाचन हुन लागेको हो ।