वीरेन्द्रनगर । राष्ट्रिय जनमोर्चा सुर्खेतले सङ्घीयता खारेजीको माग गर्दै कोणसभा सम्पनन गरेको छ ।
“सङ्घीयता खारेजीका लागि सङ्घर्ष गरौँ” मूल नाराका साथ सुर्खेतको छिन्चुबजारमा २०७९ चैत १२ गते आइतबारका दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजमो केन्द्रीय सदस्य रत्नविक्रम प्यासीले सङ्घीयता यथाशीघ्र खारेज हुनुपर्ने माग गर्नुभयो ।
‘पाँच बर्से अनुभवले सङ्घीयता खारेज गर्नुपर्ने आम जनताको स्तरबाट महसुस भइसकेको कुरा हो’ उहाँले अगाडि भन्नुभयो– ‘अहिले देशमा जुन आर्थिक सङ्कटको अवस्था छ, यस्तो परिस्थितिमा सङ्घीयताको बोझ धान्न नसकिने अवस्था छ ।’
उहाँले राजनीतिक स्वार्थभन्दा माथि उठेर सङ्घीयता खारेजीको मागलाई साझा रूपमा अगाडि बढाउनुपर्ने आवश्यकतामा पनि जोड दिनुभयो ।
कोणसभामा राजमो कर्णाली प्रदेश समितिका अध्यक्ष पूर्णबहादुर शाही र राजमो सुर्खेत जिल्ला अध्यक्ष गोविन्दप्रसाद सुवेदीले पनि सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य कृष्णा रावल, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य हीरालाल नेपाली, राजमो कर्णाली प्रदेश समितिका सल्लाहकार धनप्रसाद देवकोटाको आतिथ्य रहेको थियो ।