काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्त बहादुर कुँवर प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा हुनुभएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।
यही चैत ६ गतेको निर्णयले उहाँ एआइजीमा बढुवा हुनुभएको थियो । सरकारले उहाँलाई एआइजीको फूली लगाएको दुई दिनमै आइजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।
प्रहरी महानिरीक्षकका लागि कुँवरसहित एआइजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धामा हुनुहुन्थ्यो । कुँवर अङ्क तालिकामा १ नम्बरमा हुनुहुन्थ्यो । यसपटक भने महानिरीक्षकको नियुक्ति निर्विवाद रूपमा भएको छ ।
हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह आज राति १२ बजेदेखि ३० वर्षे प्रहरी सेवाको उमेर हदका कारण अनिवार्य अवकासमा जाँदै हुनुहुन्छ ।
काम गर्न सक्ने सक्षम, कमाण्ड गर्न सक्ने, नेतृत्व दिनसक्ने लगायतलाई आधार मानेर नेपाल सरकारले जो कोहीलाई पनि आइजिपी बनाउन सक्ने अवस्था कानूनी आधार छ । अब कुँवरको कार्यकाल आगामी २०८१ चैतसम्मका लागि हुनेछ ।