जनवादी संस्कृतिको क्षेत्रमा वैचारिक–सांस्कृतिक रुपमा सशक्त रक्तिम सांस्कृतिक अभियानले आगामी २०८० साल वैशाख १, २ र ३ गते आफ्नो चौथो राष्ट्रिय सम्मेलन गर्दैछ । रक्तिम अभियानको यो सम्मेलनले संगठनलाई अझ मजबुत र धारिलो बनाएर लैजाने रक्तिमकर्मीहरूको अपेक्षा छ । सम्मेलनको मूल नारा ‘सामन्ती तथा पूँजीवादी संस्कृतिको विरुद्ध हाम्रो आन्दोलन, प्रगतिशील तथा जनवादी संस्कृतिको पक्षमा चौथो राष्ट्रिय सम्मेलन’ तय गरिएको रक्तिमले जनाएको छ । सम्मेलनको तयारी, रक्तिमको सांगठनिक अवस्था तथा भावि योजनामा केन्द्रित रहेर हामीले अध्यक्ष गिरिप्रसाद बुढासँग संक्षिप्त कुराकानी गरेका छौँ ।
रक्तिम सांस्कृतिक अभियानको सम्मेलन तयारी कसरी अगाडि बढेको छ ?
आउँदो नयाँ वर्ष २०८० सालको वैशाख १ देखि ३ सम्म बुटवलमा हाम्रो चौथो राष्ट्रिय सम्मेलन गर्न गइरहेका छौँ । त्यसक्रममा अहिले हामी विभिन्न जिल्लामा भेला, प्रशिक्षणसँगै प्रतिनिधि–पर्यवेक्षक चयन तथा आर्थिक अभियानमा छौँ । सम्मेलनलाई भव्य बनाउन सबै साथीहरु आ–आफ्नो क्षेत्रमा जुटिरहनु भएको छ । करिब ४५ जिल्लाबाट प्रतिनिधि पर्यवेक्षक सहभागी हुने अनुमान गरेका छौँ ।
केही समय यता रक्तिमको गतिविधिकमा सुस्तता आएजस्तो देखिन्छ नि ?
रक्तिम सांस्कृतिक अभियानको भूमिका अहिले कम जस्तो देखिए पनि वास्तवमा सांगठनिक रुपमा पछिल्लो समयमा कैयौँ कामहरु भएका छन् । म अध्यक्ष बनेको करिब नौ महिना भयो । यसबीचमा हामीले बुटवलमा केन्द्रीय प्रशिक्षण गरेका थियौँ । त्यो प्रशिक्षणले नयाँ कलाकार उत्पादनसँगै संगठन निर्माणमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । दैलेख र सुर्खेतमा पनि प्रशिक्षण चलाएका छौँ । यस्ता प्रशिक्षणलाई निरन्तरता दिने हाम्रो योजना छ । यसैगरी विभिन्न जिल्लाहरुमा देउसी भैलो खेलेका थियौँ ।
यस्तै, राष्ट्रिय सम्मेलन तयारीका शिलशिलामा बागलुङ, अर्घाखाँची, गुल्मी, प्युठान, चितवन, नवलपरासीलगायत जिल्लामा जिल्ला सम्मेलन तथा भेलाहरु भइरहेका छन् । अन्य जिल्लामा राष्ट्रिय सम्मेलन पछि भेला गर्नेगरी सांगठनिक गतिविधि अगाडि बढाएका छौँ । समग्रमा रक्तिमको सांगठनिकसँगै सांस्कृतिक गतिविधिलाई तिब्रता दिने प्रयासमै जुटेका छौँ ।
यद्यपी, रक्तिममा विगतको जस्तो सशक्त भूमिका त देखिएन नि?
हाम्रो भूमिकालाई देशको राजनीतिक अवस्थाले पनि प्रभावित पार्छ । विगतमा भूमिगतकालमा वा जनआन्दोलनको समयमा कला, साहित्यले खेल्ने भूमिका र अहिलेको भूमिकामा फरक पर्छ । त्यतिबेला हाम्रो सक्रियता स्वाभाविक रुपले बढी हुन्थ्यो ।
जतिबेला म अध्यक्ष बनेको थिएँ, रक्तिममा फुटको असर परेको थियो । यो अभियानबाट कतिपय कलाकारहरु बाहिरिएका छन् । यद्यपी, म आफैँ कलाकार भन्दापनि साहित्यमा रुची राख्ने व्यक्ति हुँ । तर, रक्तिमलाई प्रभावित पार्ने विषय भनेको मूलतः वैचारिक, सैद्धान्तिक पक्ष नै हो । हामीसँग सशक्त वैचारिक, सैद्धान्तिक हतियार भएका कारण रक्तिमको भूमिका कमजोर होइन, अझै बढेर जानेछ ।
एउटा समूह फुटेर रक्तिमकै नामबाट गतिविधिगरिरहेको देखिन्छ, यसले तपाइँहरुको संगठनलाई कक्तिको असर गरेको छ ?
त्यो रक्तिमको नामबाट भ्रम सिर्जना गर्ने प्रयास मात्रै हो । यस्तो भ्रम लामो समय टिक्दैन । उनीहरुसँग कुनै वैचारिक–सैद्धान्तिक स्पष्टता छैन । कतिबेला कहाँ जाने हुन् भन्ने थाह छैन । विगतमा रक्तिम सांस्कृतिक अभियानमा बसेर गरेका गतिविधिको केही समयसम्म ब्याज खान्छन् र हराउँछन् । उनीहरुलाई हामीले खासै महत्व दिएका छैनौँ । उनीहरुको त्यति चर्चा गर्न आवश्यक म ठान्दिन ।
यहाँहरुले केही समययता केन्द्रीय प्रशिक्षणसँगै सुर्खेत र दैलेखमा पनि प्रशिक्षण चलाउनुभयो, नयाँ उत्पादन भएका कलाकारहरुको धारणा कस्तो पाउनुभएको छ ?
हो, हामीले बुटवलको केन्द्रीय प्रशिक्षणपछि दैलेख र सुर्खेतमा अलग–अलग प्रशिक्षण चलाएका थियौँ । ति प्रशिक्षणमा सबै नयाँ कलाकार थिए भन्ने होइन, कतिपय विगत लामो समयदेखि काम गरिरहेका साथीहरु पनि हुनुहुन्छ । नयाँ, पुराना कलाकारहरुको समिश्रण गरेर प्रशिक्षण चलाइएको हो । नयाँ कलाकारमा रक्तिमप्रति निकै उत्साह छ । उहाँहरुलाई कलासँगै वैचारिक प्रशिक्षणको खाँचो रहेको महसुस गरेको छु ।
रक्तिम सांस्कृतिक अभियानको अबको योजना के छ ?
यतिबेला हाम्रो सबै ध्यान राष्ट्रिय सम्मेलनमा केन्द्रित छ । सम्मेलन तयारीका क्रममा धेरै जिल्लाहरुमा सम्पर्क स्थापित गरेका छौँ । तर, भेला सम्मेलन केही जिल्लामा मात्रै भएका छन् । राष्ट्रिय सम्मेलनपछि बाँकी जिल्लाहरुमा पनि भेला गर्छौँ । केही जिल्लाहरुमा भने हाम्रो सम्पर्क छैन । ती जिल्लामा पनि सम्पर्क कायम गर्छौं । ७७ वटै जिल्लामा सांगठनिक सम्पर्क कायम गर्ने प्रयासमा रक्तिम लाग्छ ।
त्यसका साथसाथै वैचारिक–सैद्धान्तिक प्रशिक्षण दिने, तथा कला र साहित्यको क्षेत्रमासमेत रक्तिमलाई थप सशक्त पार्ने हाम्रो प्रयास हुनेछ ।