दिनेश रैदास, दाङ ।
अखिल नेपाल किसान महासंघ, दाङ देउखुरीले विभिन्न माग राखेर बुधबार भालुबाङमा विरोध प्रदर्शन गरेको छ।
सहिद कृष्णसेन इच्छुक प्रतिमास्थल पुल्चोकबाट शुरु भएको महासंघमा आवद्ध किसानहरुको र्यालीले पुल्चोक बजार, निर्माणधिन बसपार्क, हनुमानगढी मन्दिर टोल, रामजानकी मन्दिर टोल, इलाका प्रहरी कार्यालय भालुवाङ बजार परिक्रमा गरी भालुवाङस्थित लुम्विनी प्रदेश कृषि तथा भूमिव्यवस्था मन्त्रालय प्राङ्गण पुगेर विरोधसभामा परिणत भएको थियो।
त्यसक्रममा किसानहरुले ‘कृषि मलको मूल्य वृद्धि फिर्ता गर, मिटर ब्याजी पीडितहरुको ब्याज मिनाहा गर, लघुबितिय सहकारी संस्थालाई अवैध घोषणा गर, कृषि मल बीउ सर्वसुलभ गर, खेतीयोग्य जमिनको प्लटिङ बन्द गर, कृषि मल कारखाना निर्माण गर, भारतीय अखाद्य तरकारी आयात तुरुन्त बन्द गर’ लगायत नारा लगाउनुका साथै प्लेकार्ड बोकेका थिए ।
विरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले सत्ताधारी दलहरुले किसानलाई राहत दिनुपर्ने ठाउँमा उल्टै किसानलाई निचोरेको आरोप लगाउनुभयो । उहाँले किसानले हक र अधिकार प्राप्त गरेमात्रै देशको वास्तविक विकास हुने बताउनुभयो ।
महासंघ केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्यले देशको झण्डै ८३ प्रतिशत जनसंख्या कृषिमा आधारित किसानहरूको हक अधिकारका लागि सरकार उदासिन भएको बताउनु भयो ।
यस्तै, नेकपा (मसाल) का जिल्ला प्रवक्ता भरत भण्डारीले देश अर्धऔपनिवेशिक र अर्धसामन्ती अवस्थामा रहँदासम्म किसानका अधिकार सुनिश्चित नहुने हुँदा यस अवस्थालाई परास्त गर्न कृषि क्रान्तिको आवश्यकता छ भन्नुभयो ।
अखिल नेपाल किसान महासंघ दाङ देउखुरीका अध्यक्ष ऋषिराम पौडेलको अध्यक्षतामा भएको विरोध सभालाई राजमो दाङका उपाध्यक्ष महेश रिजाल, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य केशवराज खनाल, अखिल नेपाल ट्रेडयुनियन महासंघ (अन्टुक) दाङका अध्यक्ष हरि थापा, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य पूर्णिमा आचार्य, राजमो दाङका सचिव वसन्त पौडेल, अखिल (छैठौं) दाङ जिल्ला अध्यक्ष सरिता पुन, अखिल नेपाल जनजाति सम्मेलन दाङका सचिव दलबहादुर पुन, अखिल नेपाल युवक संघका हिमाल एमसी, नगर विकास समिति भालुवाङ का सदस्य विजुला केसी, अखिल नेपाल उद्योग व्यापार संघका केन्द्रीय सदस्य विष्णु श्रेष्ठ लगायतले सम्बोधन गर्नु भएको थियो ।
सहिदप्रति एक मिनेट मौनधारण गरी शुरु भएको विरोध सभाको सञ्चालन किसान महांघका जिल्ला सचिव मणिराम खनाल र स्वागत जिल्ला उपाध्यक्ष माधव आचार्यले गर्नु भएको थियो ।
