महेन्द्रनगर। कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट भारतको दिल्ली जाने बसलाई भारतीय पक्षले सिमाक्षेत्रमा रोकेका छन् ।
यात्रु बोकेर दिल्ली जान लागेको ‘नेपाल–भारत मैत्री बस सेवा’ लाई भारतीय व्यवसायीले शुक्रबार शारदा ब्यारेज नजिक रोकेका हुन् । त्यसक्रममा उनीहरुले यात्रुलाई ओरालेर बस अगाडि बढ्न दिएका छैनन् ।
भारतीय ट्याक्सी व्यवसायीहरुले नेपाली प्रशासनले भारतीय नम्बर प्लेटका ट्याक्सीहरुलाई महेन्द्रनगर प्रवेश गर्न नदिएको भन्दै नेपाली नम्बर प्लेटको गाडी रोकिदिएका हुन् ।
केही दिनअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले व्यवसायीहरुको अनुरोधमा भारतीय ट्याक्सीहरुलाई नियन्त्रण गर्ने निर्णय गरेको थियो ।
दिल्लीबाट सिधै ट्याक्सी बुक गरेर पहाडी जिल्लामा समेत भारतीय यात्रु जान थालेको भन्दै प्रशासनले भारतीय नम्बर प्लेटको ट्याक्सीलाई महेन्द्रनगरबाट बाहिर जान रोकेको हो ।
सोही विरोधमा भारतीयले नेपाली गाडीलाई पनि अवरोध गरेका महाकाली बहुउद्येश्यीय संस्थाका पदाधिकारीले बताएका छन् ।
समस्या समाधानका लागि नेपाली यातायात व्यवसायीले सिमावर्ती भारतीय व्यवसायीसँग छलफल गरिरहेको महाकाली बहुउद्येश्यीय संस्थाका अध्यक्ष डम्बर पन्तले जानकारी दिए ।