काठमाडौँ । मजदुरी गरेर जीविका चलाउँदै आउनुभएकी शुक्लाफाँटा नगरपालिका– १० झलारी खल्ला बस्तीकी ३२ वर्षीया पुनम नेपाली उपचार खर्च जुटाउन नसक्दा घरमै थला पर्नुभएको छ ।
बायाँ खुट्टामा भएको घाउको समयमै उपचार गराउन नसक्दा नेपालीलाई क्यान्सर भएको छ । आर्थिक अभावमा उहाँले उपचार गराउन पाउनुभएको छैन । पीडा सहदै नेपाली घरमै बस्दै आउनुभएको छ । दुई छोरा एक छोरीकी आमा पुनमलाई श्रीमान्ले छाडेर गएपछि उपचार गराउने व्यक्ति घरमा छैनन् । ‘मजदुरी गरी जीविका चलाउन सक्दैन’, उहाँले भन्नुभयो, ‘बालबालिका भोकभोकै बस्न बाध्य छन्, उपचार नपाउँदा पीडामा बाँच्न बाध्य छु ।’
उहाँका अनुसार केही दिनका लागि पुग्ने गरी नगरपालिकाको वडा नं ६ का वडाध्यक्ष दानबहादुर ऐरले आफ्नै लगानीमा चामल, दाल, नुन, तेल उपलब्ध गराउनुभएको थियो । उपलव्ध गराएको राहत सामग्री सकिएको छ । उहाँले भन्नुभयो, ‘बालबालिका भोकभाकै बस्न बाध्य भएका छन् ।’
शुक्लाफाँटा नगरपालिका नगरस्तरीय एकल महिला समूहका अध्यक्ष शान्तिदेवी धामीको पहलमा नेपालीलाई महाकाली प्रादेशिक अस्पताल पुर्याएर घाउ चेकजाँच गराउने कार्य गरिएको छ । ‘सडकमा हिँड्दै रुँदै गरेका बेला फेला पारी नेपालीलाई अस्पताल पुर्याएर घाउ चेकजाँच गराउने कार्य गरेका छौँ’, धामीले भन्नुभयो, चिकित्सकले क्यान्सर भएको भनेर जवाफ दिनुभएको छ, घरमै दैनिक डे«सिङ गर्ने र पेन किलर दिने कार्य भइरहेको छ’, नेपालीसँग नागरिकता थिएन ।
‘नागरिकता नहुँदा नि:शुल्क उपचार गराउन सम्भव थिएन, कुनै पनि निकायबाट सहयोग माग्न अप्ठेरो थियो”, उहाँले भन्नुभयो, ‘मतदाता परिचयपत्रका आधारमा नेपालीको नागरिकता बनाएका छौँ’, नगरपालिका संग सहयोगको याचना गरिएको उहाँले बताउनुभयो । राज्यको सेवा सुविधा नेपालीले पाउन भनेर नागरिकता बनाउन सहयोग गरेको उहाँको भनाइ रहेको छ ।
वडाध्यक्ष ऐरले नेपालीलाई सहयोग रकम उपलब्ध गराउनका लागि कार्यपालिका बैठकमा प्रस्ताव पेश गरिएकाले रु पाँच हजार जतिको सहयोग हुने बताउनुभयो । उपचार खर्च रकम जुटाउन नसक्दा पुनमको अबस्था अत्यन्तै कष्टकर बन्दै गएको छ ।
देशमा तीन तहको सरकार भए पनि उपचार नपाएरै पुनमको ज्यान जाने खतरा रहेको समूहका अध्यक्ष धामीले बताउनुभयो । ‘पुनमको उपचारका लागि सहयोग रकम उपलब्ध गराउनका लागि दातृ निकायसँग याचना गर्दछौँ’, उहाँले भन्नुभयो, नेपालीको उपचारसँगै बालबालिकालाई नि:शुल्करुपमा पढ्ने र खाने व्यवस्था तत्काल गरिनुपर्दछ ।‘
भारतमा श्रीमान्सँगै मजदुर गर्न गएका बेला नेपालीको खुट्टामा घाउ भएको थियो । घाउ बल्झिँदै गएर क्यान्सर भएपछि नेपालीका श्रीमान् सम्पर्कविहीन भएका छन ।