काठमाडौं । सत्ता गठबन्धनमा रहेका तीन दल निकट विद्यार्थी संगठनहरुले स्वतन्त्र विद्यार्थी युनियनको चुनावको लागि क्याम्पस भागवण्डा गरेका छन्।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघ, माओवादीको अखिल क्रान्तिकारी र एकीकृत समाजवादीको अनेरास्ववियूबीच काठमाडौँका क्याम्पसहरुको बाँडफाँट भएको हो।
उनीहरुले उपत्यकाका २७ वटा क्याम्पसमा भागवण्डा टुंग्याएका हुन् । उपत्यकाका २२ आङ्गिक र ५ सामुदायिक क्याम्पसको भागवन्डा मिलेको एक नेताले बताए ।
ती नेताका अनुसार नेविसंघले १३, क्रान्तिकारीले १० र अनेरास्ववियूले ४ वटा कलेज पाउने समझदारी बनेको छ ।
नेविसंघले त्रिभुवन विश्वविद्यालय (त्रिवि), त्रिचन्द्र क्याम्पस, शंखरदेव क्याम्पस, पब्लिकयुथ क्याम्पस, पद्यमकन्या क्याम्पस, पशुपति क्याम्पस, विश्वभाषा क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, कोटेश्वर बहुमुखी क्याम्पस, ग्रामिण आदर्श क्याम्पस, जनप्रशासन क्याम्पस र चिकित्सा शास्त्र क्याम्पस महाराजगन्ज र नर्सिङ क्याम्पस महाराजगन्ज लिने प्रारम्भिक समझदारी छ ।
अखिल क्रान्तिकारीले अस्कल क्याम्पस, नेपाल ल क्याम्पस, पुलचोक क्याम्पस, थापाथली क्याम्पस, काठमाडौँ इन्जिनियरिङ क्याम्पस, सानोथिमी क्याम्पस, एनसीसी क्याम्पस, एनआर क्याम्पस र ललितकला क्याम्पस लिने गरी सहमतिको तयारी छ । पाटन बहुमुखी क्याम्पस र सरस्वती क्याम्पसमा नेविसंघ र अखिल दुवैको दाबी छ।
अनेरास्ववियूलाई आरआर क्याम्पस ताचाल क्याम्पस, बानेश्वर बहुमुखी क्याम्पस र काठमाडौँ शिक्षा क्याम्पस दिने गरी सहमति भएको छ। चैत्र ५ गते तय भएको चुनावका लागि २७ फागुनमा उम्मेदवारी मनोनयनको कार्यतालिका छ। बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवारी गर्न सकिनेछ ।