भीमदत्त पन्तनगर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बँदेलमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताका अनुसार काठमाडौँको केन्द्रीय प्रयोगशालामा परीक्षण गर्दा बँदेलमा अफ्रिकन स्वाइन फिभर देखा परेको हो ।
उहाँले निकुञ्जको बँदेलमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको जानकारी दिनुभयो । निकुञ्जभित्र सङ्क्रमण देखिएपछि अन्य जनावरमा समेत सङ्क्रमणको जोखिम बढेको छ ।
‘यही फागुन १९ गते निकुञ्जमा गस्ती गरिरहेका बेला बँदेल मृतावस्थामा भेटिएको थियो’ उहाँले भन्नुभयो– ‘चोटपटक नलागेको र जिउ सुन्निएको अवस्थामा देखेपछि परीक्षण गरिएको हो ।’
गत माघमा कञ्चनपुरका बङ्गुर फार्ममा पहिलोपटक अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको हो । यसको उपचार नभएकाले यो रोग लागेपछि पशुमा ठुलो नोक्सानी पुग्न सक्ने भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र कञ्चनपुरका बरिष्ठ पशु चिकित्सक पानसिंह ठगुन्नाले बताउनुभयो ।
‘यो रोग कञ्चनपुरमा पहिलोपटक देखिएको हो यसको कुनै उपचार छैन’ उहाँले भन्नुभयो– ‘कञ्चनपुरको बेदकोटमा सुरुमा देखिएको हो अहिले अन्य ठाउँमा पनि बङ्गुर मर्न थालेका छन् ।’
अफ्रिकन स्वाइन फिभर रोग लागेमा सुँगुर र बङ्गुर एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा नीलडाम देखिने, कानका टुप्पामा रगत जमेका धब्बा देखिने र नाकबाट फिँज आउनेजस्ता लक्षण देखा पर्ने पशु चिकित्सक बताउँछन् ।





