काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलित मुक्ति सङ्गठनको छैठौँं राष्ट्रिय सम्मेलन आगामी जेठ २१ र २२ गते काठमाडौँमा हुने भएको छ ।
सङ्गठनका अध्यक्ष गणेश विश्वकर्माको अध्यक्षतामा हालै बसेको केन्द्रीय कमिटीको पाँचौंँ पूर्ण बैठकले छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको दिनको अवसर पारेर २०८० साल जेठ २१ र २२ गते छैटौंँ राष्ट्रिय सम्मेलन काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको हो ।
“दलित आन्दोलनको पुनर्गठन र रूपान्तरणका लागि राष्ट्रव्यापी अभियान : दक्षिणपन्थी अवसरवाद र सबै खाले विभेदका विरुद्ध छैटौँ राष्ट्रिय सम्मेलन” भन्ने मूल नाराका साथका हुने सम्मेलनमा देशभरबाट झन्डै एक हजार बढी प्रतिनिधिको सहभागिता रहने प्रचार विभाग प्रमुख गोपाल बराइलीले जानकारी दिनुभयो ।
बैठकले आगामी जेठ २१ गतेसम्म तीन महिने “सङ्गठन निर्माण तथा परिचालन अभियान” सञ्चालन गर्ने निर्णय गरेको बताइएको छ ।
सङ्गठनले छैटौँं राष्ट्रिय सम्मेलन सम्पन्न गर्न विभिन्न उपसमिति गठन बनाएको छ । सङ्गठनका अध्यक्ष गणेश विश्वकर्मा संयोजक रहेको ३३ सदस्यीय मूल व्यवस्थापन तथा परिचालन समिति गठन गरिएको छ ।