काठमाडौँ । सरकारले शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्ने भन्दै सङ्क्रमण कालीन न्यायसँग जोडिएका दुईओटा विधेयक सङ्घीय संसद्मा दर्ता गर्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा २०७९ फागुन १५ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शान्तिप्रक्रियाका कामलाई यथाशीघ्र अगाडि बढाउन ती विधेयक अगाडि बढाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेयक फागुन २५गते नै प्रतिनिधि सभामा दर्ता गर्ने निर्णय गरेको छ । यसअघि अघिल्लो सरकारले पनि सो विधेयक अगाडि बढाएको थियो । सङ्घीय संसद्को कार्यकाल समाप्त भएपछि ती विधेयक निस्क्रिय भएका थिए ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका प्रेस संयोजक नरेन्द्र केसीका अनुसार शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्ने लक्ष्यका साथ ती विधेयक सङ्घीय संसद्मा पेस गर्ने निर्णय गरेको बताइएको छ ।