काठमाडौं । एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक जितेको छ। एसियन क्रस कन्ट्री च्याम्पियनसिपको १६ औं संस्करणको स्पर्धामा पुरुषतर्फ दीपक अधिकारीले स्वर्ण जितेका हुन्।
यो नेपालले जितेको पहिलो स्वर्ण हो। गोकर्ण गल्फ रिसोर्टमा मंगलबार भएको च्याम्पियनसिपमा नेपालले स्वर्ण जितेको हो।
एसियाली स्तरको प्रतियोगितामा नेपालले सिनियरमा स्वर्ण पदक जितेको यो पहिलो पटक हो। नेपालले सिनियर पुरुष इभेन्टमा पनि स्वर्ण पदक जितेको छ।
१३ औं दक्षिण एसियाली खेलकुदका कास्य पदक विजेता तथा नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता दीपकले ३३ मिनेट ५२.०१ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जितेका हुन्। दीपकले फोटो फिनिसमा जापानका खेलाडीलाई हराएका हुन्। जापानका डाइची कामिनोले ३३ मिनेट ५२.०६ मा दौड पूरा गरेर रजत पदक पाए।
२६ जनाले भाग लिएको प्रतिस्पर्धामा नेपालका मुकेशबहादुर पाल ३४ मिनेट ३३.३९ सेकेन्डमा दौड पूरा गर्दै कास्य पदक जिते।
सिनियर पुरुष टिम इभेन्टमा पनि नेपालले स्वर्ण पदक जितेको छ। दीपक, मुकेश र दीपक सुहानले १ घन्टा ४३ मिनेट १९ सेकेन्डमा दौड पूरा गरेर स्वर्ण पदक जिते। इरानले रजत र भारतले कास्य पदक जितेको छ।
यस्तै, नेपालले महिला १० किमी दौडमा दुई रजत पदक पनि जितेको छ। १० किमी दौडमा नेपालकी राजपुरा पछाइले नेपाललाई रजत पदक दिलाइन्।
सोही स्पर्धामा जापानकी युवा सरुमिदाले निर्धारित दूरी ३८ मिनेट ३३ सेकेण्डमा पार गर्दै स्वर्ण पदक जितिन्।
भारतकी सोनीकाले कास्य पदक जितिन्। सोनीकाले निर्धारित दूरी ४१ मिनेट ३१ सेकेण्डमा पार गरिन्।
नेपालका रापुरा पछाइ, पुष्पा भण्डारी र वृन्द्रा धनाके श्रेष्ठले १० किमी दौडको दूरी २ घण्टा ७ मिनेट ५७ सेकेण्डमा पार गर्दै रजत पदक जितेका हुन्।

