काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले नेपालको राजनीतिमा चीन हावी भएको टिप्पणी गरेका छन् । एक रेडियो कार्यक्रमलाई अन्तर्वाता दिने क्रममा विश्लेषक दीक्षितले नेपालको राजनीतिबाट भारतले हात भिकेको उल्लेख गरे ।
भारतले चीन र अमेरिकालाई ‘चेक एण्ड व्यालेन्स’ मा राखेको टिप्पणी गर्दै डा. दीक्षितले भारतले हात झिक्दा यी दुई महाशक्तिको प्रतिस्पर्धा झन् बढ्ने बताए ।
उनले भने, ‘अस्ति क्वात्रा आए, गए । भारतले चीन र अमेरिकालाई चेक एन्ड ब्यालेन्स राखेको हो । अहिले हात झिकेजस्तो देखियो । चिनियाँहरु ज्यान फालेर लागेका छन् । चाइना हावी भए जस्तो लागेर अमेरिका हाम फालेर आएको छ । यसले त नेपाल विदेशीको चंगुलमा पर्ने देखियो ।’
डा. दीक्षितले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच साँठगाँठ भइसकेको भन्दै राष्ट्रपति कांग्रेसबाटै बन्ने दाबी पनि गरे ।
उनले भने, ‘प्रचण्डले माधव नेपालको नाममा ओलीलाई बल्छी हालेको मात्र हो । माधव नेपाल फुरुंग परेर प्रचण्डकहाँ दौडेका छन् । तर प्रचण्डको स्वार्थ देउवासँग मिल्नुमा छ । अब पुरानो गठबन्धन ब्युँतन्छ । राष्ट्रपति कांग्रेसबाटै हुन्छ ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि त्यसको संकेत पाएको दीक्षितले औंल्याए । त्यसकारण फागुन १ गते दिएको जनयुद्ध दिवसको बिदाप्रति अहिले आएर कटाक्ष गरेको दीक्षितको भनाई छ ।
राष्ट्रपति निर्वाचनको सन्दर्भमा नेपालमा भारत, अमेरिका र चिनियाँहरु तीनै पक्षको चलखेल बढेको छ । हालै नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव विनयमोहन क्वात्राले अधिकांश दलका नेतालाई भेटेर फर्किएका छन् भने भारतीय राजदूत नवीन श्रीवास्तवले आफ्नो सक्रियता कायमै राखेका छन् ।
यस्तै, नेपालमा एक पछि अर्को गर्दै अमेरिकी उच्च अधिकारीहरुले भ्रमण गरिरहेका छन् । २४ माघमा अमेरिकी सहयोग नियोग युएसएआइडीकी प्रमुख प्रशासक समान्था पावरले नेपाल भ्रमण गरेर फर्केलगत्तै भारतीय विदेशसचिव क्वात्रा आएकै दिन फागुन १ गते अमेरिकी विदेश मन्त्रालय स्टेट डिपार्टमेन्टमा दक्षिण तथा मध्य एसिया ब्युरो हेर्ने उप–सहायकमन्त्री अफ्रिन अख्तर पनि नेपाल आएकी थिइन् ।
यसैगरी राष्ट्रपति निर्वाचनको सन्दर्भमा पछिल्ला दिनमा चिनियाँ राजदूत छन सोङले पनि सक्रियता बढाएका छन् ।