जेरुसेलम । इजरायली सेनाले वेस्ट बैङ्कमा बुधबार गरेको आक्रमणमा कम्तिमा ११ जना प्यालेस्टाइनी मारिएका छन् भने १०२ जनाभन्दा बढी घाइते भएका छन् ।
इजरायलमा आक्रमण गर्ने योजना बनाएका तीन संदिग्धलाई लक्षित गरी कारबाही गर्दा सो घटना भएको हो ।
इजरायल डिफेन्स फोर्स (आइडिएफ) र इजरायल सुरक्षा एजेन्सीले संयुक्त विज्ञप्ति जारी गर्दै सोबारे जानकारी दिएका हुन् ।
इस्लामिक जिहाद लडाकु समूहले इजरायली सेनासँगको भिडन्तमा आफ्ना दुई कमान्डर मारिएको बताएको छ ।
लायन्स डेन उग्रवादी समूहले पनि आफ्ना सदस्यहरू सो भिडन्तमा संलग्न भएको पुष्टि गरेको छ तर तिनीहरूका सदस्य मारिएका छन् वा छैनन् भनी स्पष्ट पारेको छैन ।
नाब्लस आक्रमणमा मारिएकामध्ये एक हमास सदस्य रहेको प्यालेस्टिनी लडाकु समूहले जनाएको छ । हमासले हुसम सलिमलाई सदस्य र सहिद भएको दाबी गरेको छ ।
आइडिएफले एक जनालाई भाग्ने क्रममा गोली लागेको र अन्य दुई जना सेनासँगको गोली हानाहानमा मारिएको जनाएको छ ।
इजरायली अधिकारीहरूले जनाएअनुसार संदिग्धले इजरायली सेना विरुद्ध ढुङ्गा, मोलोटोभ ककटेल र विस्फोटक उपकरण प्रहार गरेका थिए । (रासस–एएनआई)