काठमाडौँ । राष्ट्रिय जनमोर्चाले साम्राज्यवादी प्रभावको भण्डाफोर गर्न आगामी वैशाख १० गते घोषणा गरिएको चितवन उपनिर्वाचनमा भाग लिने भएको छ ।
अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०७९ फागुन ९ गते जारी प्रेसवक्तव्यमार्फत् सो जानकारी दिइएको हो ।
राजमोले गत मङ्सिर ४ गतेको निर्वाचनमा रवि लामिछानेको विजयलाई नेपालमा बढ्दो अमेरिकी साम्राज्यवादको प्रभाव, इसाईकरण तथा पश्चिमाहरूको चलखेलको रूपमा लिएको दाबी गरेको छ ।
वक्तव्यमा राजमोले नेपालको भू राजनैतिक अवस्थितिमा भारतीय साम्राज्यवाद मुख्य खतरा रहँदै गर्दा पछिल्लो समयमा अमेरिकी प्रभाव बढेको धारणा व्यक्त गरेको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“आज मिति २०७९ साल फागुन ९ गते राष्ट्रिय जनमोर्चाका अध्यक्ष का. चित्रबहादुर केसीको अध्यक्षतामा संसदीय बोर्डको बैठकले यही २०८० साल वैशाख १० गते चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा हुने संसद्को उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ । चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनलाई नेपालमा बढ्दो अमेरिकी साम्राज्यवादको प्रभाव, इसाईकरण तथा पश्चिमाहरूको स्वार्थपूर्तिका लागि नेपालमा खोलिएका कठपुतली दलहरूको भूमिकालाई भण्डाफोर गर्नका लागि उपनिर्वाचनलाई सङ्घर्षको महŒवपूर्ण मञ्चको रूपमा अगाडि बढाउने निर्णय गरेको छ ।
नेपालमा पछिल्लो अवस्थामा अमेरिकी साम्राज्यवादले आफ्नो भूमिका बढाउँदै लगिरहेको छ । नेपालको राष्ट्रियताका लागि भू राजनीतिक विशिष्टताका कारण भारतीय साम्राज्यवाद मुख्य खतराको रूपमा छँदै छ तर केही दसकदेखि पश्चिमा शक्तिहरू पनि तीव्र ढङ्गबाट नेपालमा आफ्ना एजेन्डाहरू स्थापित गरेर नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डता कमजोर पार्ने रणनीतिअन्तर्गत काम गरिरहेका छन् । सिक्किमको भारतमा विलय अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवादको संयुक्त प्रयासबाट मात्र सम्भव भएको हो । नेपालको सार्वभौमसत्ता र अखण्डतालाई खतम गर्नका लागि अमेरिकी साम्राज्यवादसहितका पश्चिमा शक्ति तथा भारतीय साम्राज्यवाद संयुक्त रूपले नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डता खतम गर्नका लागि काम गरिरहेृका छन्, जसको प्रत्यक्ष उदाहरण गत मङ्सिरमा भएको प्रतिनिधि सभाको निर्वाचनमा चितवन जिल्ला २ नं. क्षेत्रमा रवि लामिछानेको विजयलाई लिन सकिन्छ ।
सबै साम्राज्यवादी शक्तिहरूका हर्कतका विरुद्ध निर्वाचनलाई भण्डाफोरको रूपमा उपयोग गरिने यसै वक्तव्यमार्फत् जानकारी गराउँछौँ ।”