टेकराज भुसाल, बुटवल ।
भारतद्वारा अतिक्रमण गरिएको नेपाली भूमि फिर्ता गराउन र एमसीसी सम्झौता खारेजीको माग गर्दै नेकपा (मसाल) सहित नौ दलले बुटवलमा शुक्रबार विरोध सभा गरेका छन् ।बुटवलको ट्राफिक चोकमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष बद्रे आलमले एमसीसीमार्फत अमेरिकाले नेपाललाई इजरायलीकरण र भारतीय साम्राज्यवादले नेपाललाई फिजिकरण र सिक्किमीकरण गराउन खोजेको भन्दै राष्ट्रिय स्वाधिनता र अखण्डताका लागि सम्पूर्ण राष्ट्रभक्त शक्ति एक हुनुको विकल्प नरहेको बताउनु भयो ।

नेता आलमले एमसीसी मार्फत अमेरिकी साम्राज्यवाद र नागरिकता तथा भूमि अतिक्रमण मार्फत भारतीय साम्राज्यवादले नेपाललाई आफ्नो क्रिडास्थल बनाउन खोजेको भन्दै नेपालमाथिको हतक्षेप सैह्य नहुने चेतावनी दिनुभयो । उहाँले राष्ट्रिय स्वाधिनता रक्षाका लागि जनताले दह्रो साथ दिएपनि सरकारले खुट्टा कमाएको आरोप लगाउनुभयो ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का पीवीएम प्रेम सुवेदीले भारतीय तथा अमेरिकी साम्रज्यवाद सामु आत्मसमपर्ण गर्ने सरकारको बानी अझ बढेको भन्दै अहिलेको दुईतिहाइको सरकारले राष्ट्रिय स्वाधिनताको रक्षा गर्न नसक्ने बताउनु भयो ।

कार्यक्रमलाई नेकपा (माले) का पीवीएम चन्द्रकान्त आचार्य, नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता नारायण जिसी, देशभक्त जनतान्त्रिक मोर्चाका ५ नम्बर प्रदेश अध्यक्ष केबि गुरुङ, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिव बिनोद उपाध्याय, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रामकरण यादव, राष्ट्रिय जागरण परिषद नेपालका केन्द्रीय सदस्य चित्र बहादुर थापा र समाजवादी पार्टीका केन्द्रीय सदस्य कृष्ण आचार्य लगायतका नेताहरुले समेतले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रम राष्ट्रिय जनमोर्चा ५ नम्बर प्रदेश सदस्य दधिराम आचार्यको अध्यक्षता, नेकपा (माओवादी केन्द्र) का ५ नम्बर प्रदेश आचार्यको स्वागत र देशभक्त जन गणतान्त्रिक मोर्चाका प्रतिनिधि पिताम्वर आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रम सुरु हुनुभन्दा पहिला बुटवलको नयाँ वसपार्कबाट र्याली शुरु गरिएको थियो उक्त र्याली बसपार्क, हस्पिटललाइन, राममन्दिर लाइन हुँदै ट्राफिक चोकमा पुगेर विरोध सभामा परिणत भएको थियो ।
