दिनेश रैदास, दाङ ।
उद्योग वाणिज्य संघ राप्ती गाउँपालिका, भालुबाङले यही फागुन १९ देखि चैत्र १ गतेसम्म पाँचौ राप्ती लुम्बिनी प्रादेशिक कृषि व्यापार तथा पर्यटन महोत्सव २०७९ आयोजना गर्ने भएको छ।
राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष सुरज खड्काले यस क्षेत्रको व्यापारिक पर्यटन तथा कृषि महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको कलासंस्कृति, स्थानिय जाती जनजातिहरुको गीत, नृत्य लगायत नाट्यकला प्रदर्शन गरिने जानकारी दिए ।
साथै, स्थानीय कृषि प्रवर्धनका लागि कृषि स्टलहरु, दर्शकहरुको मनोरञ्जनको लागि चर्खे पिङ्ग, बोटिङ, रेलगाडी, मौत कुवा, लगायतका कार्यक्रमहरु प्रस्तुत हुने छन् । यसै गरी विभिन्न किसिमका खानपान, सुपथ मूल्यमा लत्ताकपडा लगायत घरायसी सामानहरू खरिदबिक्रीका लागि स्टलहरुको व्यवस्था मिलाइने भएको छ ।
सो महोत्सव सफल पार्न अध्यक्ष खड्काको नेतृत्वमा १५१ सदस्यिय मूल आयोजक समिति गठन गरिएको जानकारी गराइएको छ। महोत्सवमा ५ लाख दर्शकलाई अवलोकन गराइने र करिब नौ करोडको आर्थिक कारोबार गरिने उद्देश्य समेत राखिएको छ।
उद्घाटन समारोहमा विभिन्न संघ संस्था, समुदाय, तथा विद्यालयहरुबाट प्रतिनिधित्व हुने गरी विभिन्न झाँकी प्रदर्शनी समेतको आयोजना गरिएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा जनाएको छ। सो झाँकीमा प्रथम, द्वितीय र तृतीय हुनेलाई रु दश हजार, सात हजार र पाँच हजार तथा झाँकीमा सहभागी सबै टोलीलाई प्रति झाँकी रु तीन हजारको दरले पुरस्कृत गरिने उद्योग वाणिज्य संघले जनाएको छ ।