काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनले टाउको उठाएको भन्दै सतर्क रहन आग्रह गरेका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाहको सहभागितामा झापाको मेची नदी किनारमा आयोजित कार्यक्रमप्रति संकेत गर्दै अध्यक्ष नेपालले प्रतिगमनको सुरुवात हुन लागेको बताएका हुन्।
‘प्रतिगमनको दिशातर्फको यात्रा हुन लागेको संकेत मेची नदीको किनारबाट हामी सबैले पाइसकेका छौं। अब हामी सतर्क बनौं’, कास्कीमा आज बिहान आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री नेपालले भने, प्रतिगमनको पक्षमा को को ? अग्रगमनको पक्षमा उभिने को को ?अग्रगमनको पक्षमा उभिनेहरू एकताबद्ध हौँ ।’
पूर्वराजा शाह नेकपा (एमाले) का केन्द्रीय सदस्य दुर्गा प्रसाईंले यही फागुन १ गते आयोजना गरेको ‘नागरिक बचाउ महाअभियान’ मा सहभागी भएका थिए।
कार्यक्रममा पूर्वराजासँगै पूर्वरानी कोमल शाह, पूर्वराजकुमार पारस शाह, पूर्वराजकुमारी शिताष्म शाह सहभागी भएका थिए। कार्यक्रमको उद्घाटन पनि पूर्वराजा शाहले नै गरेका थिए ।
मेचीनगर–६ प्यारीभिट्टास्थित बसपार्कमा आयोजित कार्यक्रममा पूर्वराजा शाह पुग्दा सहभागीहरूले जयजयकार गरेका थिए।
सोही कार्यक्रमलाई लक्ष्य गरी नेता नेपालले प्रतिगमन सलबलाउन लागेको बताएका हुन्।