दाङ । राष्ट्रिय जनमोर्चा दाङ देउखुरीले फागुन महिनामा सञ्चालन गर्ने एक महिना सांगठनिक अभियान सञ्चालन गर्न योजना बनाएको छ । बिहीबार घोराहीमा आयोजित अगुवा कार्यकर्ताहरुको भेलाले एक महिने अभियानको योजना बनाएको हो ।
राजमो कार्यकारी अध्यक्ष रस्मीराज नेपालीले मैनबत्ती बालेर भेलाको उद्घाटन गर्नुभएको थियो । ‘गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, संगठनात्मक अभियान सफल पारौं’ भन्ने नाराका साथ राजमो दाङले सांगठनिक अभियानको खाका तयार पारेको छ ।
भेलाले फागुन महिनामा पार्टीको सम्पुर्ण शक्ति संगठन निर्माणमा लगाउने र देशमा ब्याप्त भ्रष्टाचार,अनियमितता को बिरोध गर्दै एमसीसी र सीमा अतिक्रमणका विरुद्ध जनतालाइ सुसूचित गर्दै आम जनतालाई पार्टीको सदस्यता प्रदान गर्ने र संगठित गर्ने योजना बनाएको जिल्ला अध्यक्ष गणेश आचार्यले जानकारी दिनुभयो ।
सम्पुर्ण जिल्लालाई आठ भागमा बिभाजन गरी अभियान चल्नेछ । अभियानको उद्घाटन फागुन १ गते गरिने छ । जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको भेलामा राजमोका पूर्व केन्द्रीय सल्लाहकार सुरेश थापा, केन्द्रीय सदस्य कमला जिसी, प्रदेश सदस्य रेशम बिसि, अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष काशिनाथ पोख्रेल, नेकपा (मसाल) का जिल्ला प्रवक्ता भरत भण्डारीले मन्तब्य राख्नु भएको थियो । जिल्ला सचिव वसन्त पौडेलको सञ्चालनमा भएको कार्यक्रममा स्वागत मन्तब्य जिल्ला कोषाध्यक्ष स्यामलाल पोख्रेलले गर्नु भएको थियो ।