मनिराम खनाल
अन्धविश्वास र लोकाचार नपार्ने
थियोे विचार ममा ।
पोहोर साल माघ सत्रमा
बित्नुभयो आमा ।।
एकसरो धरोबाहेक सेतो
लगाइन केही आङमा ।
गाउँका जनलाई तिम्रो महिमा
भन्न पाइनँ आमा ।।
गर्ने मन थियोे समाजमा
तिम्रो नाम आओस ।
तिम्रो नाममा केही गरेर
समाजले थाह पाओस ।।
कुना वारि चिसो जाडो
महिना पर्यो माघमा ।
श्रद्वाञ्जली सभा तिम्रो
गर्न पाइनँ आमा ।।
साढेसात महिना थला परी
अन्न नखाई जानी ।
घिउ र भात फलफूल हाम्ले
बसी बसी खानी ।।
नुन खाएनौँ तिम्रो नाउँमा
तेह्रौसम्मको दिनमा ।
गन्यमान्यमा तिम्रो चर्चा
गर्न पाइनँ आमा ।।
जिउँदो छँदा बुढो शरीर
नखाई क्यारी चल्ला ।
मरिगयौ के खान्थ्यौँ झन्
चढाई खिरका डल्ला ।।
तिम्रो योगदान धेरै छ मलाई
मान्छे बनाउनमा ।
तिम्रै लागि गर्ने मन थियोे
प्रशंसा समाजमा ।।
ठुलो भए पनी म आज
तिम्रा लागि हो भुरा ।
तिम्रो नाममा गरौँला सधैँ
समाजका काम पूरा ।।
म सामाजिक हुनुमा पनि
आमा तिम्रो हात छ ।
श्रद्वासुमन भन्छु आमा
सधैँ न्यानो साथ छ ।।