काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले निर्वाचन प्रणाली अत्यन्त महंगो भएको बताउनुभएको छ ।
बिहीवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीसहित दलका शिर्ष नेताहरु तथा दलका प्रतिनिधिसँग निर्वाचन आयोगले निर्वाचन प्रणाली सुधारको सम्बन्धमा छलफल गरेको थियो ।
सो छलफलका क्रममा अध्यक्ष केसीले निर्वाचन प्रणाली निकै खर्चिलो भएकाले कम खर्चमा निर्वाचन सम्पन्न हुनेगरी व्यवस्था गर्न आयोगलाई सुझाव दिनुभयो ।
केसीले निर्वाचन प्रणाली खर्चिलो र भड्किलो भएको भन्दै त्यसलाई सुधार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले संघीयतालाई देशले बोक्न नसक्ने भएकाले त्यसको विकल्प प्रजातान्त्रिक विकेन्द्रियतामा आधारित स्वायत्त स्थानीय शासन प्रणाली ल्याउनुपर्नेमा सुझाव दिएको दिनुभयो ।
‘देशले संघीयता बोक्न सक्दैन । संघीयता हटाउनुपर्छ । त्यसको ठाउँमा प्रजातान्त्रिक विकेन्द्रिकरण सहितको स्थानीय स्वशासन प्रणाली लागू गर्नुपर्छ’ केसीले भन्नुभयो, ‘निर्वाचन धेरै खर्चिलो, भड्किलो भयो । ठेकेदारहरुले निर्वाचन लड्न सक्ने अवस्था बन्यो ।’
उहाँले विदेशमा बस्ने नेपालीलाई पनि मतदानको व्यवस्था गर्न माग गर्नुभयो । यस्तै, राप्रपा नेता झनक प्याकुरेलले पनि संघीयता बोझिलो बनेकाले हटाउनुपर्ने बताउनुभयो ।
छलफलमा बोल्ने अधिकांश नेताहरुले धन हुनेहरुले मात्रै वर्तमान प्रणालीमा निर्वाचनमा उम्मेदवार बन्नसक्ने अवस्था रहेको भन्दै आम नागरिकले निर्वाचनमा उम्मेदवार बन्नसक्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।
छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले निर्वाचन धनाढ्यहरुले मात्रै लड्नसक्ने अवस्था रहेकाले त्यसको अन्त्य गर्नेगरी निर्वाचन ऐनमा सुधार ल्याउनुपर्ने सुझाव दिएको बताउनु भयो ।
यस्तै, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले फौजदारी अभियोग लागेका व्यक्तिलाई उम्मेदवार बनाउने पार्टीहरुलाई नै कारबाही गर्ने व्यवस्था ल्याउनुपर्ने बताउनु भयो । उहाँले अभियुक्त भएका विजयी उम्मेदवारलाई पारिश्रमिक तथा सेवा, सुविधा दिनु नहुने बताउनु भयो ।