दिनेश रैदास, दाङ ।
राष्ट्रिय जनमोर्चा राजपुर गाउँक समितिले संघीयता खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको छ ।
गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रिय स्वाधिनताको रक्षा गरौं ! संघीयता खारेज गरौं !! भन्ने मूल नारा सहित बिहिवार जङ्ग्रहवामा विरोध सभा सम्पन्न गरेको हो।
विरोध सभामा राजमो जिल्ला सदस्य कपिलदेव खनालले सम्वोधन गर्दै नेपाली जनताले विगत ७० वर्ष देखि संघर्ष गरेर प्राप्त गरेको गणतान्त्रिक आन्दोलनमा संंघीयताको माग नभएको बताउनुभयो । उहाँले भारतीय साम्राज्यवाद, अमेरिकी साम्राज्यवाद र युरोपियन युनियनहरुको इशारामा जबर्जस्ती संघीयता लादिएको भन्दै त्यसको खारेजीको लागि सिंगो देश आन्दोलित हुनुपर्ने बताउनु भयो।
राजमो राजपुर एरिया समितिका अध्यक्ष टेकबहादुर बुढाको अध्यक्षता, उपाध्यक्ष दिलबहादुर घर्तीको स्वागत मन्तव्यमा भएको विरोध सभालाई जिल्ला उपाध्यक्ष महेश रिजाल, एरिया समितिका सल्लाहकार जुमानसिंह घर्ती लगायतले सम्वोधन गर्नु भएको थियो।
त्यसैगरी विरोध सभालाई जातिय समतासमाजका सदस्य खडक नेपाली, गोपाल बिक, राजमो जिल्ला सदस्य राम फकिरे रैदास, राजमो राजपुर वार्ड नं ६ का अध्यक्ष लुद्रबहादुर बुढा लगायतले सम्वोधन गर्नु भएको थियो। कार्यक्रमको सञ्चालन एरिया सदस्य रनबहादुर बुढा (सुनिल) ले गर्नु भएको थियो।