काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।
संसद्लाई कसरी प्रभावकारी बनाउने र सरकारले दिनुपर्ने विजनेस लगायतका बारेमा दलको आधिकारिक राय लिन बैठक बोलाइएको जनाइएको छ।
सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा लागि बोलाइएको बैठकमा सबै राजनीतिक दलका सचेतकहरू उपस्थिति थिए ।
संसदमा सांसदहरूको भूमिका र विधेयकका बारेमा पनि प्रधानमन्त्रीले छलफल गरेका हुन्।
दलका प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिव लगायतसँग विधेयक सम्बन्धि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाही, जनता समाजवादी पार्टीका प्रदीप यादव, नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाललगायतको उपस्थिति थियो ।
बैठकमा मुख्यसचिव शङ्करदास बैरागी, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव धनराज ज्ञवालीलगायतको उपस्थिति थियो ।