हङकङ । कोरोना महामारीका कारण करिब तीन वर्षदेखि बन्दप्राय: रहेको हङकङ र मकाउका बासिन्दाको चीनप्रवेश पूर्ण रूपमा खुला भएको छ । मुख्यभूमि चीनबाट स्वशासित क्षेत्र हङकङ र मकाउ आउजाउमा लगाइएको प्रतिबन्ध पनि हटाइएको छ ।
महामारीले मन्दीतर्फ धकेलेको एसियाको आर्थिक केन्द्र हङकङलाई पुन: जीवन्त बनाउने तथा धेरैभन्दा धेरै विदेशी पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पाँच लाख हवाई टिकट नि:शुल्क वितरण गर्ने सरकारी घोषणा भएको अर्को दिन चीनले सबै किसिमका यात्रामा लगाएको प्रतिबन्ध हटाएको हो ।
बेइजिङले कोभिड–१९ विरुद्ध अख्तियार गरेको शून्य सहनशीलताको नीतिका कारण बिग्रिएको व्यापार, व्यवसाय र पर्यटनलाई अब पुरानै लयमा फर्काउन सहज हुने छ भने तीन वर्षदेखि घर बाहिर रहेका परिवारका सदस्यको पुनर्मिलनलाई सुनिश्चित गरेको छ ।
हङकङ र मकाउ राज्य परिषद् कार्यालयका अनुसार आगामी सोमबार मध्यरातदेखि निर्वाध रूपमा चीनबाट मकाउ र हङकङ तथा मकाउ र हङकङबाट चीन जानआउन पाइने छ । गत महिना एक्कासि बेइजिङ्ले शून्य कोभिड नीति खारेज गरेपछि मुख्यभूमि जाने र त्यहाँबाट हङकङ र मकाउ आउजाउ सीमित मात्रामा हुने गरेको थियो ।
कोरोना सङ्त्र mमण नभएको प्रमाण प्रस्तुत गरेपछि मात्र दैनिक ६० हजार जनालाई आउजाउको अनुमति दिइएको थियो । हङकङका प्रमुख जोन लीले आशिंक रूपमा खुला गरिएको आवागमन व्यवस्थित, सुरक्षित एवम् सहज रहेको बताउनुभएको छ ।
मुख्यभूमिबाट अधिकभन्दा अधिक पर्यटक हङकङ घुम्न आउने गरेका छन् । सन् २०१८ मा पाँच करोड १० लाख मुख्यभूमिका चिनियाँले सुन्दर सहर हङकङ भ्रमण गरेका थिए ।
हङकङ महानगरका अधिकारीले सबै प्रतिबन्ध हटाइएपछि मुख्यभूमिबाट मात्र नभई अन्य देशबाट पनि पर्यटक ओइरिने अपेक्षा गरेका छन् । कोरोना विरुद्ध खोप नलगाएका विदेशीलाई पनि हङकङमा सोमबारदेखि स्वागत गरिने भएको छ । अब यहाँको यात्रा गर्दा क्वारेन्टिन वा आइसोलेसनमा पनि बस्नुपर्दैन, यद्यपि प्रमुख प्रशासक लीले एन्टिजेन टेस्ट आवश्यक हुने बताउनुभयो ।
हङकङमा कोभिडसम्बन्धी सबै प्रतिबन्ध हटाइएको भए पनि मास्क अनिवार्य रूपमा लगाउनुपर्छ । यो वर्षको शिशिरयाम समाप्तिसँगै त्यो व्यवस्था पनि खारेज गरिने प्रमुख प्रशासक लीले बताउनुभयो । (रासस/एएफपी)