गुवाहटी (भारत) । भारतको आसाम प्रहरीले बालविवाह विरुद्धको अभियानलाई तीव्र गतिमा अघि बढाएको छ । सामाजिक विकृति विरुद्धको यो अभियानका क्रममा हालसम्म एक हजार सात सय ९३ जना पक्राउ परेका छन् ।
आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माको निर्देशनमा बिहीबार रातिदेखि बालविवाह विरुद्ध राज्यव्यापी कारबाही थालिएको बताउँदै प्रहरी महानिरीक्षक एवम् आसाम प्रहरीका प्रवक्ता प्रशान्तकुमार भुयानले राज्यभरबाट पक्राउ परेकामध्ये एक सय ३१ जना एकै स्थान विश्वनाथका रहेको जानकारी दिनुभयो । राज्यव्यापी रूपमा बालविवाह रोक्न मुख्यमन्त्रीबाट प्राप्त निर्देशनअनुसार राज्यभरका प्रहरी त्यस विरुद्ध आक्रामक भएर लागेको उहाँले बताउनुभयो ।
उमेर नपुगेका युवतीसँग विवाह गरेको आरोपमा माजुली जिल्लाबाट छ जनालाई नियन्त्रणमा लिइएको छ भने गुवाहटीमा मात्र बालविवाहसम्बन्धी एक सय ९२ मुद्दा दर्ता भएका छन् ।
गुवाहटीबाट ५३ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको छ । बालविवाहमा संलग्न भएको अभियोगमा ध्रुवी जिल्ला प्रहरीले ९६ जनालाई हिरासतमा लिएको छ । (रासस/एएनआई)