दाङ । दाङमा कुसुन्डा भाषाको चौथो चरणको भाषा कक्षा सुरु हुँदै छ । दाङको घोराही–५ महेन्द्र मावि धर्नामा सो कक्षा सञ्चालन हुन थालेको हो ।
कुसुन्डा भाषा सिकाउनुको उद्देश्यमाथि प्रकाश पार्दै भाषा आयोगका उपसचिव माधवप्रसाद दाहालले कुसुन्डा भाषा लोपोन्मुख र सङ्कटोत्पन्न भाषा भएकाले ९० घण्टाको समय दिएर सिकाउने गरिएको बताउनुभयो । उहाँले नेपालमा एक सय २३ भाषा बोलिन्छ । त्यसमध्ये कुुसुन्डा भाषा पनि एक रहेको बताउनुभयो । यो भाषाको व्याकरण निर्माण गरेर पछिल्लो पुस्तालाई सिकाउनुपर्ने बताउनुभयो ।
घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले भाषा संरक्षणमा नगरले सहयोग गर्न तयार गरेको बताउनुभयो । शून्यमा झर्न लागेको कुसुन्डा भाषालाई पछिल्लो पुस्ताले घरपरिवार र साथीका बीचमा बढी प्रयोग गरेमा भाषा जीवित हुने बताउनुभयो ।
कुसुन्डा भाषाका अभियन्ता एवं पुस्तक लेखक उदयराज आलेले शून्यबाट सुरु गरिएको भाषा अहिले तेस्रो चरणको सिकाइ सकेर चौथो चरणको सिकाइमा प्रवेश गर्न सकेकामा खुसी व्यक्त गर्नुभयो । महेन्द्र माविमा धर्नामा १२ र घोराही उपमहानगरपालिका–१८ सुपैलाखुटीमा १२ गरी २४ जनाले यो भाषालाई सिकिरहेको बताउनुभयो । उहाँले पहिलो चरणमा औपचारिक रूपमा बोल्न सिकाइएको, दोस्रो चरणमा लेख्न र पढ्न सिकाइएको र तेस्रो चरनमा व्याकरण सिकाइएको आलेले बताउनुभयो । चौथो चरणमा भाषा जोगाउनलाई बोल्न सिकाउनुपर्छ भन्ने मान्यताले सिकाइ अगाडि बढाउने उहाँले बताउनुभयो ।
नेपाल कुसुन्डा विकास समाजका केन्द्रीय अध्यक्ष धनबहादुर कुसुन्डाले अन्य जिल्लामा यो भाषा बोल्ने व्यक्ति नभएको बताउनुभयो । दाङमा एक जना मात्रै वक्ता रहेको र पछिल्लो पुस्ताले यो भाषालाई जोगाइराख्नका लागि सिकाइले उपलब्धि भएको बताउनुभयो । उहाँले कुसुन्डा विकास समाजले गरेको सर्वेक्षणमा एक सय ६१ जनसङ्ख्या रहेको बताउनुभयो ।
कुसुन्डा भाषाका एक मात्रै वक्ता कमलासेन कुसुन्डाले ज्ञानीमायाको मृत्युपछि आफू एक्लै भएको बताउनुभयो ।
आफूसँगै भाषा पनि मर्ने थियो भन्दै उहाँले भाषा आयोगले संरक्षण गरेर पछिल्लो पुस्तालाई पनि हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । (रासस)