बेइजिङ । चीनले बैदेसिक व्यापार र लगानी वृद्धि एवम् उपभोगमा तीव्रता ल्याउने योजना अघि सारेको छ ।
चिनियाँ प्रधानमन्त्री ली केकाङको अध्यक्षतामा सम्पन्न राज्यपरिषद् बैठकले आर्थिक सुधार र व्यापार विस्तारका लागि यस्तो निर्णय गरेको हो ।
बैठकले केन्द्रीय आर्थिक सम्मेलनले हालै अनुमोदन गरेको आर्थिक सुधारसम्बन्धी निर्णयको कार्यान्वयन गर्ने प्रस्तावलाई पनि अघि बढाएको छ । आर्थिक वृद्धि, रोजगारी र उपभोग्य वस्तुको मूल्यमा स्थिरता सुनिश्चित गर्नेतर्फ बैठकले ध्यान केन्द्रित गरेको छ ।
प्राप्त समाचारअनुसार, अर्थतन्त्रलाई स्थायित्व प्रदान गर्नका लागि अघि बढाइएका नीतिगत प्याकेजको प्रभावकारी कार्यान्वयनलाई सुनिश्चित गर्न ठोस कदम अगाडि बढाइने छ । मुख्य परियोजना र वित्तीय नीतिको अग्रसरताका उपकरणलाई अद्यावधिक गरी बढी भौतिक प्रगति गर्नेतर्फ अगाडि बढ्नेतर्फ बैठकले ध्यान दिएको छ ।
साना करदाताका उपलब्ध गराइएको भ्याट र सहुलियतपूर्ण ऋणको राहतलाई साना व्यवसायका लागि थप प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइने छ । सार्वजनिक क्षेत्रलाई थप सङ्गठित र विकास गर्नुपर्नेमा पूर्ण रूपमा प्रतिबद्धता व्यक्त गर्दै बैठकले गैरसार्वजनिक क्षेत्रको विकासलाई सहयोग र नीतिगत मार्गदर्शन गर्न प्रोत्साहित गरिने जनाएको छ । विश्वस्तरीय बजारमुखी व्यावसायिक वातावरण निर्माण गर्न निजी व्यवसायको कानुनी अधिकार र चासोलाई संरक्षण गरिने बैठकमा सहमति भएको छ ।
बैठकले स्प्रिङ चाडपछिको अवस्थामा व्यवसाय र उत्पादन क्षेत्रलाई थप व्यवस्थित रूपमा खुला गर्न सहजीकरण आवश्यक रहेकामा जोड दिएको छ । साथै आप्रवासी कामदारलाई उनीहरूका पूर्ववत् काममा फर्कन र नयाँ रोजगारी खोज्ने गरी सहजीकरण गर्नुपर्ने कुरामा बैठकले ध्यान दिएको उल्लेख छ ।
चिनियाँ अर्थतन्त्रको आधारस्तम्भका रूपमा रहेको दैनिक उपभोग्य वस्तुको खपत बढाउन बैठकले जोड दिएको छ । वस्तुको मागका सन्दर्भमा बैदेसिक व्यापार र लगानी बढाउनेतर्फ ध्यान दिन राज्यका सबै निकाय अग्रसर हुनुपर्ने निर्णय पनि बैठकले गरेको छ ।
उपभोग्य वस्तुको मागलाई तीव्रता दिने सन्दर्भमा सेवामूलक व्यवसाय तथा स्वरोजगारमा आबद्ध व्यक्तिलाई मद्दत गर्ने गरी नीति अघि बढाइने छ । बैठकले कार र अन्य मूल्यवान सामानको उपभोग वृद्धिलाई प्रबद्र्धन गर्न जोड दिएको छ ।
उपभोग्य सामानको खरिदका लागि सहज ऋण उपलब्ध गराउने प्रावधान अघि बढाइएको छ । कुनै खास सहरी क्षेत्रलाई प्राथमिकता दिइने, घर खरिदका चाहनालाई ध्यानमा राख्ने, घरको अवस्थामा सुधार ल्याउने तथा पहिल्यै बिक्री गरिएका घरको अवस्थामा पनि सुधार ल्याइने छ ।
बैदेसिक व्यापारमा सहुलियत, ऋण र बिमासमेतका सुविधा उपलब्ध गराउने नीतिको प्रभावकारी कार्यान्वयन गरिने तथा चिनियाँ मुद्रा (आरएमबी) को परिवत्र्य दरलाई सकेसम्म स्थिर र सन्तुलित राखिने छ । व्यवसायीलाई बजारका अवसरको खोजी गर्न सरकारले थप राहत र सुविधा उपलब्ध गराउने छ ।
सीमापार इकमर्सको विकासलाई थप प्रबद्र्धन गरिने छ । बैदेसिक व्यापारको प्रतिस्पर्धात्मक क्षमता बढाउन प्रोत्साहित गरिने छ । आवश्यकता अनुसार आयातलाई विस्तार गरिने छ ।
बैदेसिक लगानी आकर्षित गर्न सक्रियतापूर्वक प्रयत्न गरिने छ । व्यवसाय र लगानीमा आकर्षिक गर्ने गरी स्थानीय सरकारलाई मदत गरिने छ । स्वतन्त्र व्यापार क्षेत्र र अन्य प्लेटफर्मको प्रयोगमा सहुलियत दिइने छ । बैदेसिक लगानीमा सञ्चालित व्यवसायको सेवामा सुधार ल्याउन दिगो प्रयत्न गरिने छ । (सिन्ह्वा/रासस)