काठमाडौं । अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आगामी सोमबार नेपाल आउने भएकी छन् ।
राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री भिक्टोरियाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
उनले नेपाल भ्रमणमा प्रचण्ड नेतृत्वको सरकारको अमेरिका—नेपाल सहकार्यबारे दृष्टिकोण बुझ्नेछिन् भने मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्याक्ट सम्झौता कार्यान्वयनबारे पनि छलफल गर्नेछिन्।
सन् २०२१ अप्रिलमा वर्तमान जिम्मेवारी सम्हालेयता उनले दक्षिण एसियाका केही मुलुकको भ्रमण गरे पनि नेपाल आएकी थिइनन्। नुल्याण्ड विभिन्न भूमिकामा ३३ वर्ष विदेश सेवामा बिताइसकेकी अमेरिकी अधिकारी हुन्। तत्कालीन बाराक ओबामा प्रशासनका बेला उनी सन् २०१३ देखि २०१७ सम्म युरोपेली तथा एसिया मामिला हेर्ने उपसहायक विदेशमन्त्री थिइन्।
यसैगरी एक अर्का अधिकारी अमेरिकी सहयोग नियोग युएसएआईडीका एडमिनिस्ट्रेटर समन्था पावर पनि फेब्रुअरी महिनामा नेपाल आउने स्रोतले जनाएको छ ।