काठमाडौँ । चालु आर्थिक वर्ष २०७९÷८० को छ महिनामा आयातसँगै निर्यात पनि घटेको छ । भन्सार विभागले २०७९ माघ १० गते म·लबार सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याड्ढअनुसार आयातसँगै निर्यातमा पनि कमी आएको हो ।
तथ्याड्ढअनुसार गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात २० दशमलव ६८ र निर्यात ३२ दशमलव शून्य एक प्रतिशतले कमी आएको छ । गत आवको पुससम्म रु नौ खर्ब ८८ अर्ब ३४ करोड ४२ लाखको वस्तु आयात भएकोमा चालु आवको सोही अवधिमा रु सात खर्ब ९२ अर्ब ६६ करोड ६२ लाखको आयात भएको छ ।
साथै गत आवको पुससम्म रु एक खर्ब १८ अर्ब ८५ करोडको वस्तुको निर्यात भएकोमा चालु आवको सोही अवधिमा जम्मा रू ८० अर्ब ८० करोड ७४ लाखको निर्यात भएको हो । तथ्याङक अनुसार कुल बैदेसिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ७५ र निर्यातको हिस्सा नौ दशमलव २५ प्रतिशत छ ।
व्यापारघाटा सात खर्ब
चालु आर्थिक वर्षको छ महिनामा व्यापारघाटा रू सात खर्बभन्दा पुगेको छ । विभागले सार्वजनिक गरेको तथ्याड्ढ अनुसार बैदेसिक व्यापारघाटा रु सात खर्ब ११ अर्ब ८५ करोड ८८ लाख पुगेको हो ।
समीक्षा अवधिमा नेपालले रू आठ खर्ब ७३ अर्ब ४७ करोड ३७ लाखको बैदेसिक व्यापार गरेको छ । गत आवमा रु आठ खर्ब ८० अर्ब बढीको व्यापारघाटा हुँदा रु ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाखभन्दा बढीको बैदेसिक व्यापार भएको थियो । विभागको तथ्याड्ढअनुसार गत आवको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कुल बैदेसिक व्यापार १९ दशमलव १५ प्रतिशतले घटेको छ ।
तथ्याड्ढअनुसार छ महिनामा नेपालले छिमेकी मुलुक भारतसँग मात्र रु चार खर्ब २८ अर्ब ४८ करोड ९२ लाख ५९ हजार बराबरको व्यापारघाटा व्यहोरेको छ । उक्त अवधिमा नेपालले भारतबाट रू चार खर्ब ८६ अर्ब ३३ करोड ३९ लाख बढीको आयात गरेको छ भने रू ५७ अर्ब ८४ करोड ४६ लाख ५९ हजारको निर्यात गरेको छ ।