काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा उनीहरुबीच बधाई आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गत पुस २७ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका रावलले विश्वासको मत नपाउने शंसय बढेको छ । यही शंसयबीच उनले काठमाडौंमा शीर्ष नेतासँग भेटघाट तीब्र बनाएका छन् ।
रावललाई नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गरेका थिए । माघ २७ भित्र मुख्यमन्त्री रावलले प्रदेश सभामा बहुमत सिद्ध गर्न सक्नु पर्छ। तर नागरिक उन्मुक्ति पार्टीको अडानले मुख्यमन्त्री रावललाई विश्वासको मत जुटाउन सकस परेको हो ।
रेशम चौधरीको रिहाइको अडान राखेको नागरिक उन्मुक्तिले रावललाई विश्वासको मत दिने/नदिने स्पष्ट पारेको छैन । सुदूरपश्चिम प्रदेश सरकार गठनमा नागरिक उन्मुक्ति निर्णायक छ।
सुदूरपश्चिममा प्रदेश सरकारका लागि २७ जना सांसदको समर्थन आवश्यक पर्दछ।
५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र ११ (सभामुख सहित), नेकपा एमाले १०, नागरिक उन्मुक्ति ७ र राप्रपासँग १ सांसद गरेर सत्तारुढ गठबन्धनको पक्षमा २९ सांसद छन् । उनीहरुकै समर्थनमा एमालेका रावलले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए।
सत्ता बाहिर कांग्रेसका १९, नेकपा एकीकृत समाजवादी ४ र एक जना स्वतन्त्र सांसद सहित २४ सांसद छन्।
नेपाली कांग्रेसले एमाले नेतृत्वको गठबन्धन भत्काएर सुदूरपश्चिम सरकारमा सामेल हुने प्रयास गरिरहेको छ । त्यसका लागि आफ्नो नेतृत्वमा सरकार बनाउने वा नागरिक उन्मुक्तिलाई नै मुख्यमन्त्री दिने कांग्रेसको अफर गरेको छ ।
यदी नागरिक उन्मुक्ति कांग्रेससँग मिलेमा कांग्रेस गठबन्धनलाई बहुमत पुग्छ ।