काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक भ्रष्टाचारी ठहर भएका छन् ।
विशेष अदालत काठमाडौंले बिहीबार पूर्वआयुक्त पाठकलाई भ्रष्टाचारी ठहर गरी जेल सजाय सनाएको छ ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा न्यायाधीशहरू यमुना भट्टराई र बलभद्र बाँस्तोलाको इजलासले दोषी ठहर गर्दै पाठकलाई तीन वर्ष तीन महिना कैद र ३९ लाख जरिवानाको फैसला गरेको हो।
पाठकमाथि अख्तियारको सदस्य रहँदा भक्तपुरको दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवाद मिलाउन ७८ लाख रुपैयाँ घुस लिएको आरोप लागेको थियो।
यो प्रकरणमा उनलाई निलम्बन गरेर अख्तियारले छानबिन अघि बढाएको थियो। अख्तियारको उनी पदमा रहँदै मुद्दा अघि बढाएको थियो।
भ्रष्टाचार निवारणको जिम्मेवारी पाएको अख्तियामा रहँदा नै मुद्दा चलाइएकाले उनलाई थप तीन महिना कैद सजाय भएको हो।
पाठकलाई घुस दिने काममा संलग्न कलेजका पूर्व अध्यक्ष लम्बोदर न्यौपानेलाई पनि विशेष अदालतले ३ वर्ष जेल सजाय र ३९ लाख जरिवाना तोकेको छ।