चन्द्र सापकोटा, नवलपुर ।
राष्ट्रिय जनमोर्चा नवलपरासी (पूर्व) ले आगामी फागुन–चैत महिनामा जिल्लाब्यापी संगठन निर्माण गर्ने योजना बनाएको छ । यही पुस २३ गते सम्पन्न जिल्लाको कार्यक्रमिक भेलाले संघर्ष र संगठन निर्माणलाई सँगसँगै लैजाने निर्णय गरेको हो ।
घोषित कार्यक्रम अनुसार माघ महिनाभर सदस्यता अभियान सञ्चालन गरिनेछ भने सदरमुकाम कावासोतीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने छ । यस्तै, फागुन र चैतमा वडा, गाउँ, नगरहरुमा बैठक, भेला तथा सम्मेलनका कार्यक्रम हुनेछन् ।
आगामी २०८० सालको वैशाख वा जेठ महिनामा जिल्ला सम्मेलन गर्ने पनि सो भेलाले निर्णय गरेको छ । साथै, जिल्लाको क्षेत्र नं १ र २ मा बेग्लाबेग्लै पिकनिकको आयोजना गरी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने छ ।

जिल्लाअध्यक्ष तथा केन्द्रीय सदस्य दीपक पाण्डेको अध्यक्षतामा सम्पन्न भेलाको उद्घाटन पूर्वकेन्द्रीय सचिव कृष्ण अधिकारीले गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले पार्टीले प्रतिगमनविरुद्ध विगतमा गरेको पाँचदलीय गठबन्धन सही भएको तर्क गर्दै भविष्यले त्यसलाई अझ सही सावित गर्ने बताउनुभयो । उहाँले राष्ट्रिय जनमोर्चाका लागि निर्वाचन नै सबैथोक नभएको पनि स्पष्ट पार्नुभयो । राजमो नीति, सिद्धान्त र विचारले चलेको पार्टी भएको भन्दै नेता अधिकारीले पार्टीले जहिले पनि देश र जनतालाई केन्द्रमा राखेर नीति निर्माण गर्ने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा राजमो केन्द्रीय सदस्यद्वय राजेन्द्र ढुंगाना र भागिरथ भट्टराई, अखिल नेपाल ट्रेड यढुनियन महासंघ (अन्टुक) का महासचिव शालिकराम सापकोटा र जातीय समता समाजका केन्द्रीय सदस्य लक्ष्मी विकको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सञ्चालन राजमो जिल्ला सचिव गिरबहादुर महतराले गर्नुभएको थियो ।