ठाकुर पौडेल, प्युठान ।
राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलले राजनीतिमा इमान्दारिता आवश्यक रहेको बताउनुभएको छ ।
प्युठान जिल्लाबाट प्रतिनिधि सभाका उम्मेदवार रहनुभएका पौडेलले चुजाठाँटीमा मतदाताहरुलाई धन्यवाद दिँदै चुनावमा जित हार सामान्य कुरा भएको तर राजनीतिमा इमान्दारिता आवश्यक रहेको बताउनुभएको हो ।
उहाँले चुनावमा आफ्नो पराजय भएपनि जनताले दिएको ३५ हजार भन्दा बढी मत पार्टीप्रतिको ठूलो सम्मान रहेको बताउनुभयो ।
‘चुनावमा मेरो पराजय भयो तर त्यो ठूलो कुरा होइन। चुनाव लडेपछि जित वा हार हुने नै गर्दछ । त्यसकारण अहिलेको पराजयलाई मैले स्वभाविक रुपमा नै लिएको छु’ पौडेलले भन्नुभयो, ‘तर त्यस सन्दर्भमा यो उल्लेखनीय कुरा हो कि चुनावमा मेरो हार भएपनि मलाई ३५ हजारभन्दा बढी मतदाताहरुले भोट दिएका छन्। त्यो भोटलाई सम्मान गर्दै सम्पूर्ण प्युठानी मतदाताहरुलाई हृदय देखि नै आभार व्यक्त गर्दै धन्यवाद दिन चाहन्छु ।’

उहाँले गठबन्धनका तर्फबाट आउनुपर्ने सम्पूर्ण भोट मध्ये ७ हजार भोट कम आएको उल्लेख गर्दै त्यो भोट किन र कसरी आएन, त्यसको मूल्यांकन गर्नुपर्ने बताउनुभयो ।
पौडेलले राजनीतिमा इमान्दारिता नभए बारम्बार धोका हुने बताउँदै भविष्यमा पनि सँगै काम गर्नुपर्ने आवश्यकतालाई ध्यान दिन सहयात्री दलहरुसँग आग्रह गर्नुभयो ।
‘आखिरमा जुन काममा पनि इमान्दारिता चाहिन्छ । पछि पनि हामीले कैयौं कामहरु मिलेर गर्नुपर्ने आवश्यकता हुनेछ’ उहाँले भन्नुभयो, ‘इमान्दारिता भएन भने भविष्यमा पनि बारम्बार धोका हुन सक्दछ । त्यसको लागि मैले गठबन्धनका सबै पक्षहरूको ध्याआकर्षित गर्न चाहन्छु ।’
साथै, उहाँले जिल्लामा जसको जित हार भए पनि जिल्लाको विकासका लागि सबै मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । राष्ट्रिय जनमोर्चाले जिल्लाको विकासको लागि सबै तरिकाले सहयोग गर्ने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा राजमोका केन्द्रीय सदस्य तथा प्युठान जिल्ला अध्यक्ष कृष्ण खड्का, नेपाली कांग्रेस मल्लरानीका अध्यक्ष तथा मल्लरानी गाउँपालिकाका उपाध्यक्ष रमेश श्रेष्ठ, राजमोका जिल्ला सदस्यहरु अमरध्वाज राना, सरिता जिसी, बालकृष्ण श्रेष्ठ, अखिल नेपाल किसान महासंघ प्युठानका उपाध्यक्ष गिरिराज पौडेल, साउदी अरब नेपाली एकता समाजका केन्द्रीय सदस्य ठाकुर पौडेल, माओवादी केन्द्र मल्लरानी गाउँपालिकाका सचिव निर्मला पौडेल, मल्लरानी गाउँपालिका २ का वाड अध्यक्ष लेखबहादुर थापा, मल्लरानी २ का वडा सदस्य कृष्ण सार्की, मल्लरानी २ का वडा सदस्य गणेश जिसी, मल्लरानी ३ का वडा सदस्य रेस्मी सार्की लगायतको आतिथ्यता रहेको थियो ।

कमल पौडेलको सञ्चालनबाट अघि बढेको कार्यक्रममा उपस्थित मतदाताहरुलाई नेपाली कांग्रेस मल्लरानी गाउँ समितिका सभापति युवराज पौडेलले स्वागत गर्नु भएको थियो।