दाङ । राष्ट्रिय जनमोर्चा, दाङले घोराही उपमहानगरपालिका–१९ मा चुनढुंगा उत्खनन गर्न लागिएको भन्दै आपत्ति जनाएको छ । स्थानीय नागरिकको इच्छाविपरित बस्ती उजाड पार्ने गरी भइरहेको कार्य रोक्न राजमोले माग गरेको छ ।
जिल्ला अध्यक्ष गणेश आचार्यले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी सरकार आफैँले बनाएको नीति र मापदण्ड मिच्ने काम गरेको भन्दै स्थानीय नागरिकको इच्छा विपरित घोराही–१९ मा चुनढुङ्गा उत्खनन गर्ने कम्पनी दर्ता गरेर अगाडि बढ्ने प्रयास भएको बताउनुभएको छ ।
राजमोको हालै बसेको जिल्ला समितिको बैठकले ब्याज वृद्धि, स्थानीय विकास निर्माणलगायतका विषयमा सम्बन्धिन निकायको ध्यानाकर्षण गराएको छ ।
बैठकले गत निर्वाचनको समीक्षा गर्दै राजमोबाहेक गठबन्धनका अन्य दलमा इमान्दारिता नदेखिएको ठहर गरेको छ।
साथै, राजमोले ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं संघियताको खारेज गरौँ’ भन्ने मुल नाराकासाथ विभिन्न पालिकाहरुमा सभा र कोणसभाका कार्यक्रम तय गरिएको अध्यक्ष आचार्यले जानकारी दिनुभएको छ ।
