डोटी । राष्ट्रिय जनमोर्चा, दिपायल सिलगढी नगर समितिको संयोजकमा नरेश आले चयन हुनुभएको छ । बुधबार सम्पन्न भेलाले आलेको संयोजकत्वमा नगर सम्मेलन तयारी समिति गठन गरेको हो ।
पाँच सदस्यीय आयोजक समितिले छिट्टै सम्मेलनको मिति तय गर्ने राजमो जिल्ला अध्यक्ष डबल बोगटीले जानकारी दिनुभएको छ ।
बुधबार (पुस १३ गते) बसेको जिल्ला समितिको बैठकले अन्य विभिन्न स्थानीय तहको पनि भेला, सम्मेलन गर्ने ठेगान गरेको छ । जसमा केआईसिंह गाउँपालिकाको भेला पुष २३ गते, जोरायल गाउँपालिकाको भेला पुस २५ गते र शिखर नगरपालिकाको भेला पुस २० गते गर्ने निर्णय गरिएको छ ।
यस्तै, राजमो डोटीले माघ महिना भरि ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, संघीयता खारेज गरौँ’ भन्ने मूल नाराका साथ जिल्लामा विभिन्न कार्यक्रम गर्ने निर्णय गरिएको छ ।
बैठकले पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रम र आम निर्वाचन २०७९को विषयमा समीक्षा गर्दै जनताको बिचमा गरिएको प्रतिवद्धता विपरीत सत्ता केन्द्रित राजनीतिक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष बोगटीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।