काठमाडौं । मुख्य सत्तासाझेदार दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालबीच मुख्यमन्त्रीको भागबण्डा भएको छ ।
बुधबार प्रचण्ड निवास खुमलटारमा भएको भेटघाटमा ओली र प्रचण्डले प्रदेशका मुख्यमन्त्री बाँडफाँटमा सहमति जुटाएका हुन् ।
स्रोतका अनुसार सातवटा प्रदेशको मुख्यमन्त्रीमा ४–२–१ का आधारमा भागवण्डा मिलाइएको छ। अर्थात् एमालेले चार, माओवादीले दुई र जनता समाजवादी तथा जनमत पार्टीले आधा आधा कार्यकाल गरी एक प्रदेश पाउनेछन् ।
एमालेले प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको मुख्यमन्त्री पाउने छ।माओवादी केन्द्रले बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री लिनेछ।
यसैगरी प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेका जनता समाजवादी पार्टी (जसपा) र सीके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशमा आधाआधा कार्यकाल मुख्यमन्त्री चलाउने समझदारी भएको छ।
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सबै प्रदेशका मन्त्रीहरुका विषयमा पनि मोटामोटी सहमति भएको जनाइएको छ ।
एमालेको सहयोगमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका थिए भने उनलाई सात दलले समर्थन गरेका छन् ।