काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफूले काठमाडौंमा डेरा नपाएको भनेर अफबाह फैलाइएको बताउनुभएको छ । आफूले सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा जनताका विभिन्न समस्याबारे चर्चा गरेपछि सञ्चारमाध्यमले डेराको विषयलाई हाइलाइट गरेर अफबाह फैलाइएको बताउनुभयो ।
बागलुङ क्षेत्र नं १ बाट निर्वाचत भएर काठमाडौं फर्किनुभएका अध्यक्ष केसीसँग युगदर्शनले समसामयिक विषयमा अन्तर्वार्ता लिएको छ । त्यसै सन्दर्भमा ‘तपाइँले काठमाडौंमा डेरा पाउनुभएन भन्ने चर्चा छ नि भन्ने युगदर्शनको प्रश्नमा केसीले अन्य राजनीतिक विषयमा चर्चा नगरेर डेराकै बारे बढ्ता चर्चा भएको बताउनुभयो ।
‘काठमाडौंमा त यहाँ कामले बस्ने हो नि । म जुन बेला सांसद थिएँ, डेरै लिएर बसेको थिएँ । सांसद नभएपछि पनि मैले डेरा छोडिन । अहिले पार्टीको कामले, बैठकहरुमा आउँदा म अफिसमै आएर बस्ने, अफिसबाटै काम गरेर फिल्डतिर जान्थेँ । अहिले चुनिएर आइसकेपछि संसको, संगठनको कामले पनि डेराको आवश्यकता पर्यो’ केसीले भन्नुभयो, ‘तर, एउटा आफबाह बढ्ता के चर्चा गरे भने अरु कुराको चर्चा गरेनन् । अब मैले डेरा खोज्दैछु, डेरा सजिलरी पाइँदैन । सुगम ठाउँमा पनि खोज्दैछु भन्ने कुरा गरेको, सबभन्दा मिडियामा हाइलाइट चित्रबहादुरले काठमाडौंमा डेरै पाएन अरे ! मुख्य फोकस त्यसैमा छ ।’
केसीले काठमाडौंमा लाखौं नेपालीलाई डेराको समस्या भएको स्पष्ट पार्दै राष्ट्रिय सभाका सांसद राजेश विकले जातकै कारण चार महिनासम्म डेरा नपाएको पनि उल्लेख गर्नुभयो ।
‘मैले मात्र हो र यहाँ डेराको समस्या भोगेको ? बाहिरबाट आउने लाखौँ नेपालीलाई यहाँ डेराका समस्या छन्’ केसीले भन्नुभयो, ‘यसभन्दा पहिले हाम्रो राजेशजीले (राष्ट्रिय सभा सदस्य राजेश विक) राष्ट्रिय सभामा चुनिएर आएपछि चार महिनासम्म डेरै पाउनुभएन । जातको कारणले । कथित तल्लो जात भ’को हुनाले । उपल्लो जातका मान्छेको घरमा कोठाहरु भेटिए । तर तल्लो जातको कारणले पाउनुभएन, माननीय भएपनि । मैले डेरा पाउँछु भन्ने विश्वास छ भनेजस्तो मात्रै नभेटिएको हो ।’