काठमाडौँ । प्युठानको पम्प्लेट काण्डमा १३ महिना जेल बस्नुभएका थम्मन बुढामगरको निधनप्रति नेकपा (मसाल) ले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । त्यसका साथै पार्टीले शोकसन्तप्त प्युठानका सम्पूर्ण पार्टीसदस्य, समर्थक, शुभचिन्तक र परिवार जनप्रति समवेदना प्रकट गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७९ मङ्सिर २० गते शोकवक्तव्य जारी गर्दै पार्टीले बुढाप्रति श्रद्धाञ्जली तथा समवेदना प्रकट गरेको हो ।
बुढामगरको निधनले प्युठानको साथै समग्र कम्युनिस्ट आन्दोलनलाई क्षति पुगेको धारणा व्यक्त गरिएको शोकवक्तव्यको पूर्ण पाठ यस्तो छ :
‘प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका–४ निवासी का. थम्मन बुढामगर (का. झलनाथ) को ७८ वर्षको उमेरमा २०७९ मङ्सिर २० गते मृत्यु भएको छ । उहाँको मृत्युप्रति गहिरो दुःखका साथ प्युठान जिल्लाका सबै पार्टीसदस्य, समर्थक, शुभचिन्तक र सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
का. थम्मन बुढामगरले २०२२ सालमा पार्टीमा प्रवेश गरी २०२५ सालमा पार्टी सदस्यता प्राप्त गर्नुभएको थियो । उहाँ २०३४ सालको पम्प्लेट काण्डमा गिरफ्तार भई १३ महिनापछि सल्यान जेलबाट रिहा हुनुभएको थियो । उहाँले २०३५ सालदेखि लगातार प्युठान जिल्ला पार्टीको सदस्य भएर काम गर्नुभएको थियो । नेकपा (मसाल) का विभिन्न जनवर्गीय संगठनमा समेत रहेर उहाँले विभिन्न सांगठनिक जिम्मेवारी पूरा गर्नुभएको थियो । उहाँ अहिले नेकपा (मसाल) प्यूठान जिल्लाको सल्लाहकार हुनुहुन्थ्यो । उहाँ अनुशासित, प्रतिबद्ध, लगनशील र जुझारु पार्टीसदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको समग्र आन्दोलनका साथै प्युठान जिल्लाको कम्युनिस्ट आन्दोलनलाई गम्भीर क्षति पुगेको छ ।
अन्तमा हामीले का. थम्मन बुढामगरप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।’