काठमाडौं । चारदलीय गठबन्धनले निर्वाचनका क्रममा देखिएका असमझदारीको उचित समीक्षा गर्ने बताएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको चार दलका शीर्ष नेताको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले गठबन्धनलाई निरन्तरता दिने निर्णय पनि गरेको छ। मंसिर ४ को निर्वाचन परिणाम आएपछि पहिलो पटक बसेको सत्ता गठबन्धनको बैठकपछि संयुक्त वक्तव्य निकाल्दै यस्तो निर्णय गरिएको जानकारी दिइएको हो।
‘निर्वाचनका दौरानमा देखिएका ति असमझदारीहरुको पनि आगामी दिनमा उचित समीक्षा र सम्बोधन गरिने छ,’ बैठकपछि जारी संयुक्त वक्तव्यमा भनिएको छ, ‘गठबन्धनप्रति आम मतदाताले दर्शाएको विश्वास र मायाप्रति हामी आभारी छौं।’
बैठकले आम मतदाताको भरोसा र भावनालाई कदर गर्दै जनता र मुलुकको हितलाई केन्द्रमा राखेर आगामी दिनमा थप एकताबद्ध भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेको हो।
निर्वाचनमा अभिव्यक्त जनादेशले दिएको सन्देश समेतलाई हृदयङ्गम गर्दै गम्भीर समीक्षाका साथ अघि बढ्ने सत्ता गठबन्धनमा रहेका दलहरुले बताएका छन्।
निर्वाचनका क्रममा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना देखिएको निष्कर्ष बैठकले निकालेको छ।
बैठकमा प्रधामन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादु्र देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल लगायत नेताहरु सहभागि हुनुहुन्थ्यो ।
