दार्चुला । दार्चुला सदरमुकामस्थित महाकाली नदीमा भारतले एकतर्फी रुपमा बनाइरहेको तबन्धको विरोधमा भेला भएका नेपालमाथि पारिबाट ढुंगा प्रहार भएको छ । भारतीयले गरेको ढुंगा प्रहारबाट चार नेपाली घाइते भएका छन् ।
आइतबार सदरकुमाममा भेला भएका नेपालीमाथि भारतीय पक्षले ढुंगा प्रहार गरेको थियो । जवाफमा नेपालीले पनि पारि ढुंगा हानेका थिए ।
आक्रोशित स्थानीयले महाकाली नदीको झोलुंगे पुल बन्द गरेका थिए । दार्चुला सदरकुमाम र भारतको धार्चुलालाई महाकाली नदीमाथिको झोलुंगे पुलले जोडेको छ । पुल बन्द भएपछि पारि गएका नेपाली र वारी आएका भारतीय रोकिएका थिए । साँझ प्रशासनले बल प्रयोग गरी पुल खुलाएको थियो ।
नाका खुलेपछि महाकाली वारिपारि दुवै देशतर्फ फसेका यात्रु आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।
महाकाली नदीमा भारतले एकतर्फी ढंगले तटबन्ध निर्माण गरिरहेको भन्दै नेपाली नागरिकहरुले आइतबार पनि विरोध गरेका थिए ।
भारतले पछिल्ला दिनमा तटबन्ध निर्माणलाई तीब्रता दिएको छ । नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलंगा जोखिममा पर्न सक्ने भन्दै स्थानीय आक्रोशित छन्। भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप उनीहरुले लगाउँदै आएका छन्।
दार्चुला सदरमुकामको बंगाबगड क्षेत्र भन्दा ठिक पारि भारतले गतवर्षदेखि एकतर्फी रुपमा तटबन्ध निर्माण गरिरहेको छ ।