काठमाडौं । राष्ट्रिय जनमोर्चाले लुम्बिनी र गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने लगभग निश्चित भएको छ । समानुपातिक निर्वाचन प्रणालीबाट राजमोले यी दुवै प्रदेशमा एक÷एक जनालाई प्रतिनिधित्व गराउने छ ।
प्रदेश सभामा थ्रेसहोल्ड कटाउन कूल सदर मतको १.५ प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । यी दुवै प्रदेशमा राजमोले थ्रेसहोल्ड कटाएको छ । यद्यपी निर्वाचन आयोगले यससम्बन्धी अन्तिम निर्णय गर्न बाँकी छ ।
आयोगको तथ्यांकअनुसार मतगणना अन्तिम चरणमा पुग्दा लुम्बिनी प्रदेशमा १८ लाख ८७ हजार ७८ मतगणना गरिएको छ । दलहरुले १८ लाख ८० हजार ६३० मत पाएको देखिन्छ । यसआधारमा त्यहाँ ६ हजार ४४८ मत बदर भएको देखिन्छ ।
राजमोले लुम्बिनीमा ३२ हजार ६४७ मत ल्याएको छ । यो भनेको थ्रेसहोल्ड माथिको मत हो । त्यसकारण लुम्बिनीमा राजमोको एक जना प्रतिनिधि जाने निश्चित बनेको छ ।
यस्तै, गण्डकीमा हालसम्म ९ लाख ४८ हजार ६३६ मतगणना भएको छ । त्यहाँ स्याङ्जा–२ को मतगणना जारी छ ।
गण्डकीमा राजमोले पाएको मत १४ हजार ८७७ हो । यो भनेको खसेको मतको १.५ प्रतिशत अर्थात थ्रेसहोल्ड माथि हो । यद्यपी गण्डकीमा स्याङ्जा २ को मतगणना जारी रहेको र अन्य स्थानमा समानुपातिकतर्फ मतगणना सकिएकोबारे यकिन तथ्यांक प्राप्त भएको छैन ।
हालसम्म प्राप्त मतका आधारमा गण्डकीमा पनि राजमोले एक स्थान सिट सुरक्षित गर्ने देखिन्छ ।






