काठमाडौँ । राजधानी काठमाडौँमा तीन वर्षपछि मौसमी रुघाखोकी फर्किएको छ । विस्तारै चिसो बढ्दै गर्दा उपत्यकामा मौसमी रुघाखोकीका बिरामी बढेका हुन् ।
सामान्य जस्तो ठानिएको रुघाखोकीले गार्हो पार्न थालेपछि राजधानीका अस्पतालमा बिरामीको चाप बढ्न थालेको स्वास्थ्यकर्मीहरूले बताउन थालेका छन् ।
जाडोयाम सुरु हुनासाथ मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएन्जा) को सङ्क्रमण बढेको हो । कोभिड सङ्क्रमण उत्कर्षमा रहेको समय साधारण व्यक्ति र चिकित्सकले खासै चासो नलिने त्यही मौसमी रुघाखोकी सङ्क्रमितहरूलाई पुन: हैरान बनाउन थालेको छ । पछिल्लो तीन वर्षयता मौसमी रुघाखोकी सङ्क्रमण खासै चर्चामा थिएन ।
टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सकहरूले दैनिक दसपन्ध्र मौसमी इन्फ्लुएन्जाका बिरामी आउने गरेको बताएका छन् । यसरी जचाउन आउनेमध्ये विद्यालय उमेरका बालबालिकाको सङ्ख्या बढी छ । उनीहरूमा घाँटीमा खसखस, खोकी, सिँगान बग्ने, मध्यम ज्वरो, थकाइ, जिउ दुख्नेलगायत लक्षण पाइएको छ ।
अस्पतालको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको महामारी व्यवस्थापन शाखाले पछिल्लो समय मुलुकमा मौसमी रुघाखोकीको इन्फ्लुएन्जा ए (एच१एन१) पी.डी.एम. ०९ अर्थात् पहिले बोलीचालीको भाषामा भनिने स्वाइन फ्लु र इन्फ्लुएन्जा ए (एच३) देखिएको हो ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार मौसमी रुघाखोकीको भाइरस ए, बी, सी र डी गरी चार प्रकारको हुने भए पनि मुख्य रूपमा महामारी भने इन्फ्लुएन्जा ए र बी भाइरसको कारण फैलिने गर्छ ।
चिकित्सकका अनुसार मौसमी रुघाखोकीको लक्षण सामान्यतया एक साता आफैँ हराएर जान्छ भने केहीमा भने जटिल समस्या निम्त्याउँछ । बर्सेनि सामान्य भनिने यस्तै रुघाखोकीले बुढापाका, दीर्घरोगी, क्यान्सर, रोग प्रतिरोधक क्षमता कम भएका मधुमेही र बालबालिकाको मृत्युसमेत हुने गरेको छ ।
विज्ञहरूका अनुसार कोरोना महामारीका बेला इन्फ्लुएन्जासम्बन्धी रिपोर्ट खासै आएका थिएनन् ।
महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले पनि पछिल्ला दिनमा मौसमी रुघाखोकीको केसहरू बढेको बताएको छ । अस्पतालको भनाइ छ : करिब तीन वर्षको कोरोनाकालपछि पहिलोपटक पुन: यो वर्ष मौसमी रुघाखोकीको चर्चा भइरहेको छ । कोरोनाकालमा मौसमी रुघाखोकी कम देखिएको थियो ।
कोरोना महामारीका बेला मास्क प्रयोग, सामाजिक दुरीलगायत स्वास्थ्य मापदण्ड पालनाले पनि मौसमी रुघाखोकीको विस्तार हुन नसकेको अस्पतालको भनाइ छ । मौसमी रुघाखोकीका लक्षण भएकाहरू सकेसम्म अरूको सम्पर्कबाट दुरी बनाएर बस्ने, खोक्दा हाच्छिउँ गर्दा मुख छोप्ने र मास्क लगाएको खण्डमा सङ्क्रमण फैलन पाउँदैन । हाल देखिएको मौसमी रुघाखोकीको सङ्क्रमणबाट जोगिन कोभिडकालमा जस्तै मास्कको उपयोग, सामाजिक दुरी, हातको सरसफाइ, चिसोबाट बच्नुलगायत उपाय सबैले पालना गर्न अस्पतालले सुझाव दिएको छ ।
उच्च ज्वरो, रुघाखोकी, घाँटीको खसखसलगायत लक्षण भएकाले कम्तीमा ७२ घण्टा घरमै आराम गर्ने र तागतिला झोलपदार्थ सेवन गरेको खण्डमा सङ्क्रमणको असर विस्तारै कम हुँदै जान्छ । चिकित्सकका अनुसार १०३ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आइरहे वा रुघाखोकीको लक्षणसँगै लगातार बान्ता, झाडापखाला, खाना नरुच्ने, सास फेर्न गार्हो भए तुरुन्त डाक्टरसँग सल्लाह लिनुपर्छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार मौसमी रुघाखोकीको सङ्क्रमणका बेला लापरबाही गरे बिरामीको ज्यान जाने जोखिम हुन सक्छ ।
विश्वभर हरेक वर्ष मौसमी रुघाखोकीका ३० लाखदेखि ५० लाख स्वास्थ्य समस्या पहिचान हुने गरेको छ भने त्यसले गर्दा दुई लाख ९० हजारदेखि छ लाख ५० हजार जनासम्मको श्वासप्रश्वासको समस्याले मृत्यु हुने गरेको छ ।