काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फ जारी मतगणनामा अहिलेसम्म पाँच दलले मात्रै थ्रेसहोल्ड कटाएका छन् ।
हालसम्म ८३ लाख ९२ हजार ५ सय ९१ सदर मत गनिसकिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार कूल मतदाता १ करोड ७९ लाख ८८ हजार ५ सय ७० रहेकामा ६१ प्रतिशत अर्थात् १ करोड ९ लाख ७० हजार मत खसेको छ । यसमा ३ लाखजति मत बदर भएको अनुमान छ ।
सदर मतको संख्या करिब १ करोड ६ लाख ७० हजार हुन्छ । यसको ३ प्रतिशत थ्रेसहोल्ड ३ लाख २० हजार हुन्छ। प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेको दलले समानुपातिकमा थ्रेसहोल्ड पार गरेपछि राष्ट्रिय दलको मान्यता पाउँछ।
आयोगको तथ्यांकअनुसार हालसम्म पाँच दलले थ्रेसहोल्ड कटाएका छन् ।
समानुपातिकमा पहिलो स्थानमा रहेको नेकपा एमालेले २३ लाख ६ हजार ८ सय ३३ मत पाइसकेको छ। दोस्रोमा नेपाली कांग्रेसले २२ लाख १० हजार २ सय ९ मत ल्याएको छ भने तेस्रो स्थानमा रहेर नेकपा माओवादी केन्द्रले ९ लाख ६८ हजार ५ सय ९३ मत प्राप्त गरेको छ।
यसपछि चौथो स्थान ओगटेको राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २५ हजार ३३ समानुपातिक मत पाएको छ। पाँचौं स्थानमा रहेर राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८७ हजार ४ सय ८४ मत ल्याएको तथ्यांक छ ।
थ्रेसहोल्ड कटाउन संघर्षरत रहेको जनता समाजवादी पार्टी (जसपा) पनि २ लाख ८८ हजार १ सय ६२ मतका साथ थ्रेसहोल्ड पार गर्न प्रयासरत छ । उसलाई थ्रेसहोल्ड पार गर्न ३२ हजार मतको आवश्यकता छ ।
यसैगरी, नेकपा एकीकृत समाजवादीले २ लाख २२ हजार २ सय ३४ मत ल्याएको छ । उसले अझै १ लाख मत ल्याएमा राष्ट्रिय दलको मान्यता पाउनेछ।
प्रत्यक्षतर्फ प्रतिनिधिसभामा एक सिट जितेको जनमत पार्टीले २ लाख २२ हजार २ सय २५ समानुपातिक मत पाएको छ।
यस्तै, नागरिक उन्मुक्ति पार्टी पनि थ्रेसहोल्ड कटाउन संघर्षरत छ। प्रत्यक्षतर्फ ३ सिट जितेको उसले १ लाख ९९ हजार ७९ समानुपातिक मत पाएको छ ।