तमघास । गुल्मी क्षेत्र नं. १ प्रतिनिधि सभा क्षेत्रबाट नेपाली काङ्ग्रेसका नेता डा. चन्द्रकान्त भण्डारी निर्वाचित हुनुभएको छ ।
कुल ६९ हजार छ सय ८३ मत खसेकामा भण्डारीले ३३ हजार सात सय ४४ मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी नेकपा (एमाले) उपमहासचिव प्रदीप ज्ञवालीले ३२ हजार एक सय ५२ मत प्राप्त गर्नुभयो । २०७९ मङ्सिर ९ गते दिउँसो १ बजे मतगणना सकिएको हो ।
दोस्रोपटक सदनमा निर्वाचित डा. भण्डारीले स्नातकोत्तरसम्मको शिक्षा हासिल गर्नुभएको छ । काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा प्रारम्भ गर्नुभएका भण्डारी सङ्घकै महामन्त्री हुनुभएको थियो ।
त्रिभुवन विश्वविद्यालयबाट उहाँले चार वर्षअघि समाजशास्त्रअन्तर्गत “राष्ट्र निर्माणमा भूमण्डलीकरणको प्रभाव” विषयमा विद्यावारिधि गर्नुभएको हो ।
राजनीतिक यात्राका क्रममा नेता भण्डारीले पाँच वर्षभन्दा बढी जेलजीवन बिताउनुभएको छ । यसअघि उहाँ २०७० सालमा संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
काङ्ग्रेसको तेह्रौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित नेता भण्डारी पार्टीको चौधौँ महाधिवेशनमा उपसभापतिको उम्मेदवार हुनुहुन्थ्यो । (रासस)