काठमाडौं । भर्खरै संगठित भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले अप्रत्यासित नतिजा हासिल गर्दै समानुपातिकतर्फ तेस्रो स्थान ओगटेको छ । यस्तै, मधेशमा पनि नयाँ दल सिके राउत नेतृत्वको जनमत पार्टी पहिलो पार्टीका रुपमा उदाएको छ ।
समानुपातिकको प्रारम्भिक मत परिणाम अनुसार देशभर नेकपा (एमाले) पहिलो र नेपाली कांग्रेस दोस्रो भएका छन् । तेस्रोमा रास्वपा, चौँथोमा माओवादी केन्द्र र पाचौँमा राप्रपाले मत ल्याएका छन् ।
गत आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फ हालसम्मको गणनामा एमालेले ६० हजार ४४४ मत ल्याउँदा कांग्रेसले ५३ हजार १२८ मत पाएको छ।
त्यस्तै, तेस्रोमा रहेको स्वतन्त्र पार्टीले २७ हजार ६७ मत पाएको छ भने नेकपा माओवादी केन्द्रले २३ हजार ३१२ मत पाएको छ।
पाँचौं स्थानमा रहेको राप्रपाले १३ हजार ३१३ मत पाएको छ। जनमत पार्टीले ४ हजार ५२१ मत पाउँदा जसपाले ४ हजार ४९९ मत पाएको छ।
प्रत्यक्षतर्फ भने अहिलेसम्म चार स्थानको नतिजा आइसकेको छ । जसमा कांग्रेसले तीन र एमालेले एक स्थानमा जीत हासिल गरेका छन् ।
हालसम्म कांग्रेस ४८, एमाले ३८, माओवादी १२, राष्ट्रिय स्वतन्त्र पार्टी ११ र एकीकृत समाजवादी ७ स्थानमा अगाडि छन् ।
यस्तै, राप्रपा चार, नागरिक उन्मुक्ति पार्टी तीन, जनमत पार्टी तीन तथा नेमकिपा र राष्ट्रिय जनमोर्चा एक/एक स्थानमा अगाडि छन् ।