अर्घाखाँची । अगामी मंसिर ४ गते हुन गैरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धनले प्रचार प्रसारलाई तिब्रता दिएको छ।
चुनावी प्रचार प्रसार अन्तरगत गठबन्धनको संयुक्त कार्यक्रम आज सन्धिखर्क–७ फज्याङ खोलामा सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसीले गणतन्त्र र जनआन्दोलनबाट प्राप्त उपलब्धि जोगाउन प्रतिगमनका विरुद्ध गठबन्धन गरेको बताउनु भयो । उहाँले नेकपा (एमाले) लाई बहुमतको सरकार पर्दान गर्दा पनि सरकार चलाउन नसकेर लथालिङ्ग पारेको बताउनु भयो ।
नेता केसीले गणतन्त्र र गणतन्त्रबाट प्राप्त अधिकारलाई स्थापित गर्नको लागि आफूहरु संघर्ष गरिरहेका पनि बताउनु भयो ।
प्रतिगामी र विदेशी शक्तिहरुलाई परास्त गर्न र गठबन्धनको उम्मेदवारलाई जिताउन उहाँले आग्रह गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘ गणतन्त्रको रक्षाको लागि, गणतन्त्रबाट प्राप्त अधिकार स्थापित गर्नको लागि गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्छ ।’
त्यस्तै, प्रतिनिधि सभाका उम्मेदवार पुस्पा भुसाल र राम बहादुर चौहानले पनि सम्बोधन गर्नुभएको थियो ।